२०८३ बैशाख २७ आइतबार
Jhapa Today
Adv top

कलकत्ताबाट रोहिंगिया नेपाल छिर्ने आशङ्का, मोरङमा कडाइ, झापामा सहज


बिर्तामोड, बैशाख २७ । भारतको पश्चिम बङ्गालमा भारतीय जनता पार्टी (भाजपा) ले सरकार बनाएपछि त्यहाँबाट रोहिंगिया मुस्लिमहरू भागेर नेपाल छिर्न सक्ने आँकलनपछि मोरङको सीमानाकामा कडाइ गरिए पनि झापाको सीमा अवस्था सहज छ ।

मोरङको सीमावर्ती क्षेत्र जोगवनी नाकामा सुरक्षा निगरानी बढाउँदै नेपाल प्रवेश गर्नेहरूका लागि परिचयपत्र अनिवार्य गरिए पनि काँकरभिट्टा नाकामा भने त्यस्तो केही कडाइ गरिएको छैन ।

नेपालको प्रशासनले कलकत्ताबाट जोगवनी आउने रेलमार्फत रोहिँगियाहरू नेपाल छिर्ने जोखिम बढी रहेको आँकलन गरेको छ । ‘बढीभन्दा बढी रोहिँगिया मुस्लिम बस्ने भनेको मालदा एरियामा हो । कलकत्ताबाट आउने ट्रेनमा ह्वारह्वार्ती रोहिंगियाहरू नेपाल छिर्लान् कि भन्ने मनमा डर छ,’ स्रोत भन्छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार यो निर्णय नेपाल पक्षको विशुद्ध सुरक्षा सतर्कता मात्र हो ।

भारतका कतिपय सञ्चार माध्यममा भाजपाले सरकार बनाएसँगै त्यहाँबाट रोहिंगिया मुस्लिमहरू विस्थापित हुने प्रचार व्यापक बनेको छ । सोही कारण नेपालतर्फ सतर्कता अपनाइएको स्रोतको दाबी छ ।

रोहिंगियाबाहेक फरार कैदीहरूको आवतजावत रोक्नु पनि अर्को मुख्य उद्देश्य रहेको प्रशासनको भनाइ छ । यो कदम परराष्ट्र मन्त्रालयको निर्देशनमा नभई जिल्ला तहको सुरक्षा समितिको आफ्नै निर्णय भएको हो ।

Adv footer