बिर्तामोड, बैशाख २९ । झापाको बिर्तामोड–१ मा सञ्चालित वाल्मीकि एजुकेसन फाउन्डेसनका छजना विद्यार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ४ जिपिए ल्याएका छन् । यो नतिजा बिर्तामोडका विद्यालयमध्ये सबैभन्दा उत्कृष्ट हो ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइइ नतिजाअनुसार विद्यालयका ६ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका हुन् । त्यस्तै, ६८ जना विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गरेका छन् भने ७० जनाले ए ग्रेड हासिल गरेका छन् । विद्यालयका १६ जना विद्यार्थीले बि प्लस जिपिए ल्याएका छन् ।

विगतका वर्षझैँ यसपटक पनि विद्यालयले जिल्लामै अब्बल नतिजा निकाल्दै आफ्नो शैक्षिक साख कायम राखेको हो । विद्यालयले अनुशासित शैक्षिक वातावरण, नियमित पठनपाठन, दक्ष शिक्षक तथा अभिभावकको सहकार्यका कारण निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको जनाएको छ ।

विद्यालय प्रशासनका अनुसार विद्यार्थीको क्षमता अभिवृद्धिसँगै अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राखिएको छ ।
यस वर्षको नतिजाले विद्यालयको शैक्षिक गुणस्तरलाई थप पुष्टि गरेको भन्दै अभिभावक तथा स्थानीय समुदायले खुसी व्यक्त गरेका छन् । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विद्यालयले सम्मान गर्ने तयारी गरेको जनाएको छ ।
वाल्मीकि एजुकेसन फाउन्डेसन झापामा गुणस्तरीय शिक्षाका लागि परिचित शिक्षण संस्थामध्ये एक मानिन्छ । जिल्लामा निजी विद्यालयबीच बढ्दो प्रतिस्पर्धाका बीच विद्यालयले लगातार उत्कृष्ट नतिजा दिँदै आएको छ ।





