२०८३ बैशाख २९ मंगलबार
Jhapa Today
Adv top

हप्तामा सातै दिन बजार सञ्चालन गर्नुपर्ने उपाध्यक्ष खड्काको तर्क


बिर्तामोड, बैशाख २९ । हप्तामा एक दिन बन्द हुँदै आएको बिर्तामोड बजार सरकारको नयाँ विदा नियमसँगै परिवर्तनको माग उठ्दै आएको छ । हाल बिर्तामोड सोमबार बन्द हुने गरेको छ ।

तर, बिर्तामोड उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष जीवनकुमार खड्काले हप्ताको सातै दिन व्यवसाय सञ्चालन गर्नुपर्ने तर्क अघि सारेका छन् । सरकारले शनिबार र आइतबार विदा दिने नियम लागु गरेपछि बजार बन्दको बार परिवर्तन गर्नुपर्ने माग उठ्दै आएको छ ।

नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्षसमेत रहेका खड्काले छुट्टी कर्मचारीलाई चाहिने तर ग्राहकलाई विदा आवश्यक नभएकाले हप्ताको सातै दिन बजार सञ्चालन हुनुपर्ने जिकिर गरेका छन् ।

अतिरिक्त कर्मचारीको व्यवस्था गरेर वा कार्यरत कर्मचारीलाई ओभर टाइमबापतको रकम दिएर सात दिन नै व्यवसाय सञ्चालन गर्न खड्काले माग गरेका छन् । खड्काले बिहान ७ बजेदेखि राति १० बजेसम्म व्यवसाय सञ्चालन हुँदा मात्र रोजगारी सिर्जना हुने र व्यवसाय पनि चलायमान हुने बताएका छन् ।

सार्वजनिक विदाको दिन बजार बन्दा गर्दा झन् ठुलो असर पर्ने उनको धारणा रहेको छ । सार्वजनिक विदाकै दिन कर्मचारी, विद्यार्थी, अभिभावक, पाहुना, पर्यटक बजार निस्कने तर बजार बन्द हुँदा अन्यत्र जान बाध्य हुने भएकाले सात दिन नै बजार सञ्चालन गर्न खड्काले अपिल गरेका छन् ।

यसैबीच, बिर्तामोड उद्योग वाणिज्य संघले साप्ताहिक बजार बन्दका विषयमा आज दिउँसो व्यवसायीहरुसँग छलफल गर्दैछ । बिर्तामोडमा शनिबार बजार बन्द गर्नुपर्ने कतिपयले माग गर्दै आएका छन् ।

Adv footer