
बिर्तामोड, जेठ २ । भारतले बैशाख १८ गतेदेखि लागु गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) अनुसार नेपाली चियाको प्रत्येक खेपको ल्याब परीक्षण अनिवार्य भएपछि निर्यात पूर्णरूपमा ठप्प भएको छ ।

भारतीय चिया बोर्डले भारत प्रवेश गर्ने नेपाली चियाको प्रत्येक ट्रक र खेपको छुट्टाछुट्टै प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गरिएपछि नेपाली चिया उद्योगी, व्यवसायी र किसानहरू ठुलो मारमा परेका छन् ।

नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत निरन्तर कूटनीतिक पहल भइरहे पनि हालसम्म कुनै निष्कर्ष निस्किएको छैन ।

मन्त्रालय र दूतावास मार्फत भइरहेका कूटनीतिक तथा प्रशासनिक प्रयासहरू निष्कर्षविहीन बनेपछि चिया व्यवसायीले अवरोध खुलाउन प्रधानमन्त्री स्तरबाटै प्रत्यक्ष हस्तक्षेप हुनुपर्ने माग गरेका छन् ।

यसअघि एउटा नमुना परीक्षण रिपोर्टले १५ दिनसम्म वा १० वटा ट्रकलाई मान्यता दिने गरिएको थियो । तर, भारतले पुरानो व्यवस्था खारेज गर्दै अहिले ट्रकपिच्छे ११ हजार १ सय २० भारतीय रुपैयाँ (भारु) शुल्क तिरेर नमुना परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट आउन कम्तीमा दुई साता कुर्नुपर्ने झन्झटिलो र खर्चिलो प्रावधान लागु गरेको छ ।

भारतीय पक्षको यो कडा नीतिका कारण विगत आधा महिनादेखि निर्यात रोकिएको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले बताए ।
उनका अनुसार यो अवधिमा भारतीय क्रेता (बायर) ले आफ्नै जोखिममा अत्यन्तै न्यून परिमाणमा (तराईको करिब १०–१२ टन र पहाडको ४–५ टन) गरी जम्मा दुई गाडी चिया मात्र लगेका छन् ।
भारतले चिया निर्यातमा गर्दै आएको यो झमेला निरन्तर दोहोरिने नियति भएको भन्दै वैकल्पिक बजार खोज्नुपर्नेमा उनको जोड छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा प्रवक्ता दिपक खनालले चिया निर्यातमा देखिएको समस्या समाधानका लागि दुई दिन अघिमात्र वाणिज्य मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहित इलाम, झापा र काठमाडौँका करिब ३० जनाभन्दा बढी चिया व्यवसायी र विभिन्न ८ वटा एसोसिएसनका प्रतिनिधिसँग छलफल भएको बताए ।
गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ करोड ५५ लाख ९८ हजार ६ सय ६० किलो चिया वाह्य मुलुक पठाएर नेपालले ४ अर्ब ५९ करोड ८ लाख ५६ हजार रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको तथ्यांक छ ।





