२०८३ जेठ ६ बुधबार
Jhapa Today
Adv top

हल्दिबारीमा पतिद्वारा पत्नीको हत्या


बिर्तामोड, जेठ ६ । झापाको हल्दिबारी गाउँपालिकामा पतिपत्नीबीच सामान्य विवाद हुँदा पत्नीको हत्या भएको प्रहरीले जनाएको छ । घरायसी विवाद भइरहेको बेला पतिले दाउ प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा हल्दिबारी-५ धनुषपोखरीकी ३३ वर्षीया श्रीमती उर्मिला भण्डारी रहेकी छन् । हिजो राति सामान्य विवादका कारण गोकर्ण भनिने गणेश भण्डारीले आफ्नी पत्नीको हत्या गरेका हुन् ।

उर्मिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाका अनुसार भण्डारी दम्पतीबीच विगत लामो समयदेखि झगडा हुँदै आएको थियो ।

राति करिब ९ बजे गोकर्ण मादक पदार्थ सेवन गरेर घर फर्किएपछि दुवैबीच भनाभन भएको थियो । सोही क्रममा विवाद बढ्दै जाँदा आवेगमा आएर उनले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको बताइएको छ ।

पत्नीको हत्या गरिसकेपछि गोकर्णले छिमेकीको घरमा पुगेर आफूले हत्या गरेको स्वीकार गरेका थिए । घटनाबारे बताएलगत्तै स्थानीयबासीले प्रहरीलाई खबर गरी भण्डारीलाई नियन्त्रणमा लिएका थिए ।

उर्मिला गोकर्णकी कान्छी श्रीमती थिइन् । जेठी श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि उनले उर्मिलासँग बिहे गरेका थिए । उर्मिलातर्फ एक छोरी र एक छोरा रहेका छन् ।

पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

Adv footer