
बिर्तामोड, जेठ १७ । झापाको दमकमा बोरामा बाँधेर रतुवा नदीमा फालिएको अवस्थामा भेटिएको महिलाको शवको पहिचान भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो शव दमक-८ वसन्त टोलकी २१ वर्षीया रोमा भन्ने रमा तिवारीको हो । मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शव हेरिसकेपछि पहिचान खुलेको हो ।

रमा जेठ १३ गते रात अन्दाजी ०९ः३० बजे घरबाट आफूखुसी हिँडकी थिइन् । सोही दिनबाट उनको खोजी सुरु गरिएको थियो । तर, जेठ १६ गते दमक–१० स्थित सेतुमारी पुलमुनि उनको शव फेला परेको थियो ।

बोरामा बाँधेर रतुवा नदीमा फालिएको अवस्थामा बिहान साढे १० बजे शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको कपाल र हात बाहिर निक्लेको र शरीर बोराभित्र रहेको अवस्थामा शव भेटिएको थियो ।

शव गन्हाएको अवस्था भेटिएको थियो । घटनाको अनुसन्धानका सूक्ष्म ढंगले सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले तिवारीको हत्या भएको र अपराधी चाँडै पत्ता लगाइने जनाएको छ ।








