
बिर्तामोड, जेठ १७ । झापाको बिर्तामोबाट दुई दिनअघि हराएका एक व्यक्ति गम्भीर घाइते अवस्थामा भेटिए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा इलामको फाकफोकथुम गाउँपालिका–३ स्थायी घर भई हाल झापाको बिर्तामोड नगरपालिका–१ ग्रिनफिल्ड स्कुलनजिक बस्दै आएका करिब ४५ वर्षीय रामकुमार थेगिम रहेका छन् ।

उनी जेठ १५ गते राति करिब ८ बजे घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए । त्यसपछि उनी घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो ।

थेगिमकी भान्जी दुर्गा खाम्दाकले जेठ १६ गते इलाका प्रहरी कार्यालय अनारमनीमा हुलिया निवेदन दर्ता गराउँदै खोजतलासका लागि अनुरोध गरेकी थिइन् । थेगिम जेठ १६ गते राति करिब ८ः४५ बजे बिर्तामोड–३ आदर्शचोक नजिक सडकछेउमा लडिरहेको अवस्थामा भेटिएका थिए ।

उनी चिउँडोमा सामान्य चोटपटक लागेर लडिरहेको अवस्थामा रहेको जानकारी प्रहरीलाई प्राप्त भएको थियो । प्रहरी टोलीले उनलाई बिर्तामोड नगर अस्पताल पुर्याएको थियो ।

उपचारका क्रममा उनको अवस्था गम्भीर बन्दै गएको र राति करिब ९ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए । घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







