
बिर्तामोड, जेठ १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। भारतीय आयल कर्पोरेशन )आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भए पनि उपभोक्ताका लागि हाल कायम मूल्यमा कुनै परिवर्तन नगरिएको निगमले जनाएको छ।

निगमका अनुसार सञ्चालक समितिको जेठ १७ गतेको निर्णयअनुसार जेठ १८ गते बिहान १ बजेदेखि लागु हुनेगरी साविककै मूल्य कायम राखिएको हो।

प्रेस विज्ञप्ति जारी गर्दै निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दो क्रममा रहेकाले पूर्ण रूपमा मूल्य समायोजन गर्न नसकिएको जनाएको छ।

मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको निगमको भनाइ छ।

आइओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य वृद्धि गर्नुपर्ने अवस्था रहे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै हालका लागि मूल्य यथावत राखिएको निगमले जनाएको छ।








