बिर्तामोड, जेठ १८ । प्रहरीले झापाको मेचीनगरमा कुटपिटपछि भएको हत्या घटनाका आरोपीलाई पक्राउ गरेको जनाएको छ । घटना हिजो रातिको भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा तनहुँ घर भएका ३५ वर्षीय रामबहादुर गौतम रहेका छन् । उनी मेचीनगर–१५ को माँ पाथिभारा प्लाई फ्याक्ट्रीमा काम गर्दै आएका थिए ।

गौतमले मेचीनगर–१५ निलकोठी बस्ने ५५ वर्षीय रूद्र श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ । फ्याक्ट्रीमा उनीहरुबीच आपसी वादविवाद भएको र पछि कुटपिट सुरु भएको थियो ।

सोही क्रममा रामबहादुरले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका रूद्रको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापामा रहेका प्लाई उद्योगमा काम गर्ने मजदुरहरुले दैनिक मदिरा सेवन गर्ने र झगडा गर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । अधिकांश उद्योगमा भारत पश्चिम बंगालका नागरिक सीमावर्ती झापामा काम गर्दै आएका छन् ।








