२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बढ्दै कोरोना संक्रमित, घट्दै मृत्यु दर, ५३.१३% निको भए


-हिमाल खरेल

झापा, असार ७ । कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको दर घट्दै गएको छ । विश्वभरिको तथ्यांक हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको हो ।

तर, संक्रमितको संख्या भने केही देशहरुमा बढिरहेको छ । बीचमा केही स्थिर रहेको संक्रमण ब्राजिल, रसिया, भारत, इरान, चिली, मेक्सिको, पेरु, साउदी अरेबिया, पाकिस्तान, बंगलादेश, कतार, दक्षिण अफ्रिका, कोलम्बिया, इजिप्ट लगायत देशमा तीव्र गतिमा फैलिइरहेको छ । अमेरिकामा पनि संक्रमण दरमा सुधार आउन सकेको छैन ।

यसैबीच, पछिल्लो २४ घण्टामा मात्र १ लाख ५५ हजार २२ जनामा कोरोना संक्रमण देखिएको छ भने ४ हजार ४१५ जनाको निधन भएको छ ।

कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना भाइरसका कुल संक्रमितमध्ये आधाभन्दा बढी बिरामीले कोराना भाइरसलाई जितेका छन् । कुल संक्रमितमध्ये ५३ दशमलव १३ प्रतिशत बिरामी निको भएका छन् ।

हालसम्म संसारभर ८९ लाख ६ हजार ६५५संक्रमित रहेकोमा ४७ लाख ३१ हजार ८८८ जना बिरामी निको भएर घर फर्किएका छन् । पछिल्लो केही दिनयता बिरामीको उपचारमा क्रमिक सुधार आइरहेको तथ्यांकले देखाउँछ ।

त्यस्तै, छ साताअघि उपचार फाइल बन्द गरिएकामध्ये ७९ प्रतिशत निको भएका र बाँकी २१ प्रतिशत निधन भएका थिए । उपचार फाइल बन्द भन्नाले निको भएका र मृत्यु भएका संक्रमितलाई जनाउँछ । तर, केही दिनयताको तथ्यांक हेर्ने हो भने उत्साहजनक देखिन्छ । फाइल बन्द भएकामध्ये ९१ प्रतिशत निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या ९ प्रतिशतमा झरेको छ ।

अढाई साताअघि सम्म घर फर्किनेको प्रतिशत ८६ थियो । दुई साताअघि सम्म निको हुनेको संख्या ८७ प्रतिशत थियो । त्यसको ४८ घण्टामा यो दर घटेर ८९ प्रतिशतमा आएको थियो ।
एक साताअघि सम्म निको हुनेको प्रतिशत ९० थियो । कुल संक्रमितमध्ये पाँच दशमलव २३ प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ । हालसम्म ४ लाख ६६ हजार २५३ संक्रमितको मृत्यु भइसकेको छ ।

त्यस्तै, संक्रमितमध्ये ४१ दशमलव ६२ प्रतिशत बिरामीको उपचार भइरहेको छ । हालसम्म ३७ लाख ७ हजार ५१४ जना संक्रमित उपचाररत छन् । तीमध्ये दयनीय अवस्थाका बिरामीको संख्या पनि घट्दै गएको छ । उपचार गराइरहेकामध्ये एक प्रतिशत बिरामीको अवस्था मात्र दयनीय छ । उपचार गराइरहकामध्ये ५४ हजार ४७९ जना बिरामीको अवस्था दयनीय छ ।

यसैबीच, संक्रमितको संख्या हेर्ने हो भने सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा २३ लाख ३० हजार ३११ जना संक्रमित पुगेका छन् । जम्मा संक्रमितमध्ये २६ दशमलव १६ प्रतिशत अमेरिकामै रहेका छन् । त्यहाँ संक्रमण रोकिने छाँटकाँट देखिएको छैन ।

त्यसपछि ब्राजिलमा १० लाख ७० हजार १३९ जना संक्रमित छन् । त्यहाँ पछिल्लो २४ घण्टामा ३१ हजार ५७१ संक्रमित थपिएका छन् । हाल विश्वमा सबैभन्दा बढी संक्रमित बढिरहेको देश ब्राजिल हो । विश्वभर संक्रमितमध्ये १२ प्रतिशत ब्राजिलमा छन् ।

त्यस्तै, दक्षिणी छिमेकी मुलुक भारत दैनिक संक्रमित थपिनेमा तेस्रो स्थानमा पर्छ । संक्रमित संख्याको आधारमा भारत चौथो स्थानमा छ । त्यहाँ संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । भारतमा तीव्र गतिमा कोरोनाको संक्रमण फैलिरहेको छ ।

भारतमा अहिलेसम्म ४ लाख ११ हजार ७२७ जना संक्रमित पुष्टि भएको छ । १३ हजार २७७ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ३०७ जनाको मृत्यु भएको छ भने १५ हजार ९१५ संक्रमित थपिएका छन् ।

त्यस्तै, रसियामा ५ लाख ७६ हजार ९५२, बेलायतमा ३ लाख ३ हजार ११०, स्पेनमा २ लाख ९३ हजार १८, पेरुमा २ लाख ५१ हजार ३३८, इटालीमा २ लाख ३८ हजार २७५, चिलीमा २ लाख ३६ हजार ७४८, इरानमा २ लाख २ हजार ५८४, जर्मनीमा १ लाख ९१ हजार २१६, टर्कीमा १ लाख ८६ हजार ४९३, पाकिस्तानमा १ लाख ७१ हजार ६६६, मेक्सिकोमा १ लाख ७० हजार ४८५, फ्रान्समा १ लाख ६० हजार ९३, साउदी अरेबियामा १ लाख ५४ हजार २३३, बंगलादेशमा १ लाख ८ हजार ७७५ र क्यानाडामा १ लाख १ हजार १९ जना संक्रमित पुगेका छन् ।

यसअघि संक्रमण दर उच्च रहेका स्पेन, इटली, फ्रान्स, जर्मनी लगायत मुलुकमा केही दिनयता कोरोनाको संक्रमण दर घट्दो क्रममा छ ।

यसैबीच, संसारमा सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा मृतकको संख्या १ लाख २१ हजार ९७९ पुगेको छ । ब्राजिलमा ५० हजार ५८, बेलायतमा ४२ हजार ५८९, इटलीमा ३४ हजार ६१०, फ्रान्समा २९ हजार ६३३, स्पेनमा २८ हजार ३३२, मेक्सिकोमा २० हजार ३९४, बेल्जियममा ९ हजार ६९६, जर्मनीमा ८ हजार ९६१, इरानमा ९ हजार ५०७, क्यानाडामा ८ हजार ४१०, नेदरल्यान्ड्समा ६ हजार ८९, रसियामा ८ हजार २, पेरुमा ७ हजार ८६१, स्विडेनमा ५ हजार ५३, टर्कीमा ४ हजार ९२७, चिलीमा ४ हजार २९५ र पाकिस्तानमा ३ हजार ३८२ जनाले ज्यान गुमाइसकेका छन् ।

यसबीच, चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइरहेको भए पनि राजधानी बेइजिङमा न्यून संख्यामा संक्रमित बढिरहेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ २७ जना संक्रमित देखिएका छन् । त्यहाँ संक्रमित ८३ हजार ३५२ जना छन् । चीनमा ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् । (बिहान ०६:०० बजेसम्मको अपडेट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer