
बिर्तामोड, जेठ ७ । झापाको चारआलीमा रहेको सर्पदंश उपचार केन्द्रले हालसम्म २१ हजारजना भन्दा बढीको उपचार गरेको जनाएको छ । त्यहाँ विषालु सर्पको डसाइबाट पीडित नागरिकको उपचार हुँदै आएको छ ।

नेपाली सेनाको प्राविधिक सहयोग र स्थानीय समुदायको व्यवस्थापनमा सञ्चालित उक्त केन्द्रमा हालसम्ममा २१ हजार ७८६ जनाले उपचार सेवा लिइसकेका छन् ।

गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य वृद्धि हुने गरेका छन् । यहाँ गोमन, करेत, भाइपर र गुर्बे जस्ता यस क्षेत्रमा बर्सेनि सयौँ नागरिक बिरामी हुने गरेका छन् ।

२०६१ मा स्थापना भएको केन्द्र सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराईका अनुसार पछिल्लो चार वर्षमा नेपाली सेनाको अरिदमन गणस्थित यस केन्द्रमा तीन हजार ८०० जनाले उपचार गराएका छन् ।

गत बैशाखमा मात्रै यहाँ सर्पले डसेका ४७ जना बिरामीको उपचार गरिएको छ । २१ शय्या क्षमताको यस केन्द्रमा चार जना प्राविधिक कार्यरत छन् ।

बिरामीलाई थप जटिलता आएमा भद्रपुरस्थित प्रादेशिक अस्पतालले आवश्यकताअनुसार निःशुल्क सघन उपचार कक्ष सेवा उपलब्ध गराउँदै आएको छ ।






