२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

पिसिआर ल्याबका लागि ८० लाख उठ्यो, कनकाईको समर्पण भवनमा राखिने


-हिमाल खरेल
झापा, असार ७ ।
झापामा नागरिकस्तरबाट रकम संकलन भई सञ्चालनमा आउन लागेको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब कनकाईको कोटिहोममा रहने भएको छ ।

एकका लागि एक अभियानमार्फत स्थापना हुन लागेको ल्याब कोटिहोममा रहेको समर्पण राष्ट्रिय भवनको दुईवटा कोठामा सञ्चालन गरिने अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

आइतबार बिर्तामोडमा बसेको अभियानले ल्याब राखिने स्थान तोक्नुका साथै त्यसको व्यवस्थापन र दिगो सञ्चालनका बारेमा छलफल गरेको छ । त्यस्तै, प्राविधिक पक्ष र आर्थिक व्यवस्थापनका बारेमा छलफल तथा निर्णय भएको छ ।

यसअघि अभियानले बिर्तामोड, अर्जुनधारा र कनकाई नगरसँग ल्याब सञ्चालनबारे प्रस्ताव पठाएको थियो । उनीहरुको सल्लाहमा कोटिहोममा ल्याब स्थापनाको टुंगो लागेको हो । अभियानले १ नम्बर प्रदेश सरकारलाई पिसिआर ल्याब मेसिन तथा अन्य उपकरण हस्तान्तरण गरेपछि नगरले सञ्चालनको जिम्मेवारी पाउने प्राविधान छ ।

यसैबीच, अभियानले मेसिन तथा त्यसका लागि आवश्यक पर्ने फ्रिजलगायतका अन्य सामग्री खरिदको प्रक्रिया अघि बढाएको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । झापाका १५ वटा स्थानीय तह सहमत भए भविष्यमा सो ल्याब भएको भवनलाई सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने अभियानको योजना छ ।

अभियानले अन्नपूर्ण हस्पिटलका चिकित्सक वसन्त पन्त र बिर्तामोडका बायो मेडिकल इन्जिनियर मिसाल पोखरेललाई ल्याब स्थापना र त्यसको भौतिक पूर्वाधार तथा अन्य पाटोका बारेमा अध्ययनको जिम्मेवारी दिएको छ ।

यसैबीच, अभियानले ल्याब खरिदका लागि ८० लाख रुपैयाँ संकलन गरिसकेको संयोजक गिरीले बताए । ल्याबका लागि १ करोड २० लाख रुपैयाँ संकलन गर्ने अभियानको लक्ष्य रहेको छ । त्यसका लागि सहयोग जारी छ ।

ल्याब स्थापनाका लागि हालसम्म ४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख र झापा जिल्ला सहकारी संघको समन्वयमा २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिसकेका छन् । विभिन्न सामाजिक तथा वित्तीय संस्थाले पनि अभियानलाई सहयोग गरिरहेका छन् ।

बैठकमा अभियानमा साझेदार संस्था बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेल, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटी, जिल्ला सहकारी संघका सहसचिव भवानी दंगाल, नागरिक समाजका लोकबन्धु कन्दङवा, रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल) ओली, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा, रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराई, वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलले विभिन्न सुझावसहित प्रतिबद्धता व्यक्त गरेका थिए ।

संवाद समूहका तर्फबाट एकराज गिरीले सहजीकरण गरेको बैठकमा चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण बिमली, बिर्तामोड साना सहरी खानेपानी, सरसफाई तथा उपभोक्ता संस्थाका सचिव मेघराज बाँस्तोला, सहारा नेपाल साकोसका अर्जुन चुडाल, हरि शर्मा, राजेन्द्र चम्लागाई, विकास बस्नेतलगायतले समेत बैठकमा सुझाव राखेका थिए ।

कोरोना भाइरसको परीक्षणका लागि प्रदेश १ मा तीनवटा प्रयोगशाला छन् । प्रत्येक प्रयोगशालाले एक सय पिसिआर परीक्षण गर्न सक्छन् । तर, प्रदेश १ मा स्वाब संकलन भने दैनिक छ सयभन्दा बढी भइरहेको छ । प्रदेश १ मा संकलन भइरहेको ¥यालको नमुना संख्याको तुलनामा ल्याबको अभाव छ । प्रदेश १ को सबैभन्दा बढी कोरोना संक्रमित जिल्ला झापा हो ।

पहिलो चरणमा झन्डै दुई हजार विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको अभियानले १० हजार मजदुरलाई तयारी खाना खुवाएको थियो । त्यस्तै, बिर्तामोडको एउटा होल्डिङ सेन्टरमा रहेका करिब दुई सयजनालाई २२ दिनसम्म बिहान, दिउँसो र बेलुका खानाखाजा खुवाएको थियो । झापाका स्थानीय र जिल्ला प्रशासन कार्यालयलाई एक हजार थान भिटिएम र दुई सय थान आडिटी किट प्रदान गरेको थियो ।

यसैबीच, ल्याब स्थापनाका लागि रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुरले २ लाख ५ हजार १११ रुपैयाँ प्रदान गरेको छ । अभियानको बैठकअघि प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल) ओली, कोषाध्यक्ष नारायणप्रसाद ओली र सदस्य नारदमणि न्यौपानेले अभियानलाई चेक हस्तान्तरण गरे ।

सामाजिक एवम् मानवीय कार्यमा क्रियाशील प्रतिष्ठानले प्रत्येक वर्ष रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार, गौरादेवी ओली स्मृति राष्ट्रिय आर्दश आमा पुरस्कार, अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार र देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer