२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापाली समाज अस्ट्रेलियाद्वारा ७० परिवारलाई खाद्यान्न


झापा, असार ९ । झापाली समाज अस्ट्रेलियाले जिल्लाको कचनकवल गाउँपालिकाका ७० विपन्न परिवारलाई राहतस्वरुप खाद्य सामग्री वितरण गरेको छ ।

सोमबार कचनकवल ६ बनियानीस्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी समाजले आफ्नो सहयोगलाई निरन्तरता दिएको हो । सहयोग सामग्री ग्रहण गर्दै वडा अध्यक्ष कुलबहादुर कार्कीले आफ्नो मातृभूमिलाई संकटको घडीमा सहयोग प्रदान गर्ने समाजप्रति आभार व्यक्त गर्दै सहयोग अतुलनीय एवमे अनुकरणीय रहेको बताए ।

यसैबीच, समाजका अध्यक्ष उमेश पोखरेलले फोनमार्फत झापाली समाज आवश्यक सहयोग गर्न सधैँ तत्पर रहेको बताए । उनले निरन्तर सहयोगको यो एक अंश भएको धारणा राखे । कार्यक्रममा वडा सदस्य टेनेस राजवंशी, रिता परियार तथा समाजसेवी कर्णलाल राजवंशीको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन झापाली समाजका सल्लाहकार कर्ण राजवंशीले गरेका थिए ।

हरेक विपदमा झापाली समाजले प्रत्यक्ष रूपमै जिल्लाबासीहरुलाई सहयोग गर्दै आएको र यो अभियान आउँदा दिनहरुमा पनि निरन्तर जारी रहने समाजका सहसचिव मदन धौरालीले जानकारी दिए । समाजले गत हप्ता मात्र भद्रपुर नगरपालिकालाई ५० थान विद्युतीय कित्ली तथा सिसाका ग्लास प्रदान गरेको थियो ।

त्यस्तै, ‘एकका लागि एक’ अभियानअन्तर्गत पिसिआर परीक्षणका लागि १ लाख बराबरको सामग्री प्रदान गरेको थियो । समाजले मेचीनगर नगरपालिकाको क्वारेन्टिनमा रहेकाहरुलाई केही दिनभित्रै आवश्यक सहयोग गर्ने गर्नुका साथै बिर्तामोड र हल्दिबारी गाउँपालिकामा रहेका विपन्न परिवारलाई पनि राहत वितरण गर्ने योजना बनाएका छ ।

अन्तर्राष्ट्रिय झापाली समाजले घोषणा गरेको पिसिआर मेसिन प्रदान गर्ने अभियानलाई पनि आफ्नो तर्फबाट उल्लेखनीय सहयोग गर्ने समाजका सचिव अशोक उप्रेतीले जानकारी दिए । झापाली समाज अस्ट्रेलिया विभिन्न व्यवसाय, रोजगार एवम् अध्ययनका सिलसिलामा अस्ट्रेलियामा रहेका झापालीहरुको साझा संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer