२०७८ बैशाख १० शुकर्बार
Jhapa Today
Adv top

समर्पण भवनमा पिसिआर ल्याब राख्न प्रदेश सरकारको अनुमति


-हिमाल खरेल
झापा, असार १० । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा स्थापना गर्न लागिएको पिसिआर ल्याब सञ्चलनका लागि प्रदेश सरकारले अनुमति दिएको छ ।

एकका लागि एक अभियानको पूर्ण सहयोगमा स्थापना हुन लागेको ल्याबका विषयमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले विशेष चासो देखाएका थिए । मन्त्री घिमिरेले खरिद प्रक्रिया र भन्सार छुटका लागि प्रदेश सरकारले जिम्मेवारी लिने बाचा गरे ।

एकका लागि एक अभियानमार्फत झापामा स्थापना हुन लागेको पिसिआर ल्याबका लागि बुधबार झापाको कनकाईस्थित समर्पण भवनमा मन्त्री घिमिरेसँग महत्वपूर्ण छलफल भएको छ । झापाका राजनीतिक दल, सहकारी अभियन्ता र साझेदार संस्थाबीच मन्त्री घिमिरेले समर्पण भवनमा ल्याब राख्न अनुमिति दिए ।

मन्त्री घिमिरेले अभियानले हालसम्म गरेको कामको प्रशंसा गर्दै चाँडाभन्दा चाँडो पिसिआर मेसिन खरिद गर्न अभियान टोलीलाई आग्रह गरेका थिए । उनले एकदुई दिनभित्रै ल्याब राख्ने योजना बनाइएको भवनको मापदण्ड हेर्न र मूल्यांकन गर्न प्राविधिक खटाउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री घिमिरेले झापाको केन्द्रविन्दु भएकाले कोटिहोम क्षेत्र उपयुक्त भएको बताएका थिए । उनले छलफलपछि भवनको निरीक्षण गरेका थिए । उनले ल्याब सञ्चालनका लागि पनि प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिर गरे ।

समर्पण भवनमा ल्याब स्थापना र सञ्चालन गर्ने यसअघि नै अभियानको बैठकले निर्णय गरेको थियो । त्यसमा झापामा राजनीतिक दलका प्रमुखहरुले सहमति जनाएका थिए भने मन्त्रीसँगको छलफलमा पनि उनीहरुको एक स्वर रहेको थियो ।

छलफलमा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेस महासमिति सदस्य देउमान थेवे, झापा उपसभापित राम कट्टेल, राप्रपा झापाका उपाध्यक्ष कमल खरेल, जनता समाजवादी पार्टी झापाका अध्यक्ष अनुत राजवंशीले कनकाईको समर्पण भवनमा ल्याब राख्न पार्टीको प्रतिबद्धता जनाएका थिए ।

कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले ल्याब स्थापनापछि सञ्चालनमा नगरपालिकाले व्यवस्थापकीय जिम्मेवारी लिने बताए । उनले त्यसका लागि नगरले २५ लाख रुपैयाँ विनियोजन गरेको र थप आइपरे तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

सहकारी अभियन्ता तथा अभियानका सदस्य घनश्याम अधिकारीले सहजीकरण गरेको छलफलमा अभियानका संयोजक महेन्द्रकुमार गिरीले अभियानले हालसम्म गरेका काम र योजनाका बारे प्रकाश पारेका थिए भने सहसंयोजक विनोद बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए ।

ल्याब स्थापनाका लागि अभियानले ८५ लाख रुपैयाँ संकलन गरिसकेको छ । ४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाज र झापा जिल्ला सहकारी संघको समन्वयमा २५(२५ लाख हजार रुपैयाँ प्रदान गरेका छन् भने विभिन्न वित्तीय संस्था तथा व्यक्तिगत र संस्थागत रुपमा सामाजिक संघसंस्थाले रकम सहयोग गरिरहेका छन् ।

यसैबीच, अभियानले मेसिन तथा त्यसका लागि आवश्यक पर्ने फ्रिजलगायतका अन्य सामग्री खरिदको प्रक्रिया अघि बढाइसकेको छ । झापाका १५ वटा स्थानीय तह सहमत भए भविष्यमा सो ल्याब भएको भवनलाई सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने अभियानको योजना छ ।

कोरोना भाइरसको परीक्षणका लागि प्रदेश १ मा तीनवटा प्रयोगशाला छन् । प्रत्येक प्रयोगशालाले एक सय पिसिआर परीक्षण गर्न सक्छन् । तर, प्रदेश १ मा स्वाब संकलन भने दैनिक छ सयभन्दा बढी भइरहेको छ । प्रदेश १ मा संकलन भइरहेको ¥यालको नमुना संख्याको तुलनामा ल्याबको अभाव छ । प्रदेश १ को सबैभन्दा बढी कोरोना संक्रमित जिल्ला झापा हो ।

पहिलो चरणमा झन्डै दुई हजार विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको अभियानले १० हजार मजदुरलाई तयारी खाना खुवाएको थियो । त्यस्तै, बिर्तामोडको एउटा होल्डिङ सेन्टरमा रहेका करिब दुई सयजनालाई २२ दिनसम्म बिहान, दिउँसो र बेलुका खानाखाजा खुवाएको थियो । झापाका स्थानीय र जिल्ला प्रशासन कार्यालयलाई एक हजार थान भिटिएम र दुई सय थान आडिटी किट प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*