२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अनिताको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्न बुहारी आवाजको माग


बिर्तामोड, असार २० । झापाको दमक–८ निवासी अनिता राईको पोस्टमार्टम रिपोर्ट १२ घण्टाभित्र सार्वजनिक गर्न माग गर्दै मेची-महाकाली बुहारी संयुक्त आवाजले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ ।

आवाजका झापा अध्यक्ष शिखा खड्का गणेश र सचिव कविता थापाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापामा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै रानाले महिला हिंसाविरुद्धको आवाजलाई बुलन्द बनाउन आग्रह गर्दै हिंसात्मक घटना न्यूनीकरणका लागि आफूहरुले तदारुकतासाथ काम गरिरहेको बताए । राईको मृत्यु शंकास्पद रहेको र हत्या नै हुनसक्ने ठहर गर्दै ज्ञापनपत्रमा लामो समयसम्म पोस्टमार्टम रिपोर्ट सार्वजनिक नहुनु आश्चर्यको विषय भएको उल्लेख गरिएको छ ।

राईको शव असार ८ गते आफू बस्ने कोठाको झ्यालको रडमा झुन्डिएको अवस्थामा फेला परेको थियो । घटना भएको १० दिन बितिसक्दा पनि पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छैन ।

घटनामा संलग्न रहेको आशंकामा उनका श्रीमानलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको दमक प्रहरीले जनाएको छ । ज्ञापनपत्रमा घटनाका सम्बन्धमा सूक्ष्म अध्ययन गरी सत्य तत्थ सार्वजनिक गर्नुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याएर अधिकतम कारबाही गर्नुपर्ने माग गरिएको छ ।

लैङ्गिक हिंसाका विरुद्ध विभिन्न गतिविधि सञ्चालन गर्दै आएको मेची–महाकाली बुहारी संयुक्त आवाजमा नेपालभित्र र बाहिर रहेका १० हजार नेपाली बुहारीहरु आबद्ध छन् । आवाजले हिंसा न्यूनीकरणका लागि अनुसन्धान प्रक्रियालाई चुस्त बनाएर दोषीमाथि कारबाहीका लागि सडक र सामाजिक सञ्जालमार्फत दबाब दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer