२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

राखेप सदस्य सचिवमा झापाका पौडेलसहित २७ जनाको दर्खास्त


बिर्तामोड, साउन २ । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदका लागि झापाका मेघराज पौडेलसहित २७ जनाले आवेदन दिएका छन् ।

तत्कालीन एमालेको खेलकुद महासंघका नेता पौडेल पर्वतारोहण खेलकुद महासंघसँगै नेपाल स्पोर्टस क्लाइम्बिङ संघका महासचिव हुन् । उनी खेलकुद राजनीतिमा चिनिएका व्यक्ति हुन् ।
राजनीतिक नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको हालिमुहाली रहेको वर्तमान परिदृश्यमा पौडेललाई समेत सम्भावित सदस्य सचिवको रुपमा हेरिएको छ ।

पौडेलले नेकपा नेताहरुसँगको परामर्शमै सदस्य सचिवमा उम्मेदवारी दिएका हुन् । सदस्य सचिवमा दर्खास्त हालेसँगै राजनीतिक लबिङलाई तीव्र पारेका पौडेल सदस्य सचिवका दमदार उम्मेदवार मानिएका छन् ।

खेलकुदमा नयाँ बाटो बनाएर अघि बढ्ने गरेका पौडेल नेपालका लागि खेलकुद खर्च गर्ने मात्र होइन, आम्दानीको स्रोत पनि हुन सक्छ भन्ने व्यक्ति हुन् । पौडेलसहितको अगुवाइको उठेको मुद्दा पर्यटकीय र साहसिक खेलकुदको रूपमा अहिले स्थापित भइसकेको छ ।

विगतदेखि मूलधार भनिएका खेलकुदले निराशा दिलाएको अवस्थामा गएको एसियाडमा प्याराग्लाइडिङले दिलाएको सफलताले सो मुद्दा शतप्रतिशत सही थियो भन्ने प्रमाणित पनि गरेको थियो । उनी निकटहरु मेघराजलाई खेलकुदलाई फरक दृष्टिकोणसहित अघि बढाउन सक्ने व्यक्ति भएको प्रमाणित भइसकेको बताउँछन् ।

सदस्य सचिवमा आवेदन दिने अन्यमा ललितपुरका रोशन महर्जन, भरतपुरका अनिल अधिकारी, सोलुखुम्बुका हर्कबहादुर राई, सुनसरीकी मिना श्रेष्ठ, डडेलधुराका शिवराज भट्ट, बाग्लुङ्गका लिलबहादुर थापा, काठमाडौँका रवि राजकर्णिकार, काठमाडौँकै अच्युतम लामिछाने, ललितपुरकी निलम सिंह बज्राचार्य र धादिङ्गका रमेशकुमार सिलवाल छन् ।

सिलवाल निवर्तमान सदस्य सचिव हुन् । करिब एक वर्षअघि राखेप आएका उनले नयाँ ऐन कार्यान्वयनमा आएसँगै पद गुमाए । सिलवाल ओलीका विश्वासपात्र र किचेन क्याबिनेटका हर्ताकर्ता मानिन्छन् । सागको सफल आयोजना गरेर ओलीको विश्वास जितेका सिलवालले पुनः एकपटक सदस्य सचिवमा रहर गरेका छन् ।

त्यस्तै, काठमाडौँका रामेश्वर श्रेष्ठ, ललितपुरका अच्युत खनाल, पोखराका मनबहादुर गुरुङ, मोरङका विजयकुमार राई, काठमाडौँका सानुराजा केसी र किशोर शाही, ललितपुरका अन्जु श्रेष्ठ, सुदिल शाही, काठमाडौँका रमेशमान डंगोल, ध्रुवराज न्यौपाने, बाजुराका खेमराज अधिकारी, काठमाडौँका राम पुडासैनी, ललितपुर सुनिल नकर्मी, काठमाडौँका रणबहादुर चन्द, मकवानपुरका दिपेन्द्र ढकाल र कास्कीका तेजबहादुर गुरुङले सदस्य सचिव पदका लागि निवेदन दिएका छन् ।

मन्त्रालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको सिफारिस समितिले एक हप्ताको समय दिँदै गत बिहिबारसम्म दर्खास्त आह्वान गरेको थियो । सदस्य सचिव सिफारिस समितिको आह्वान अनुसार बिहिबार अपरान्ह ५ बजेसम्म २७ जनाले निवेदन दिएका हुन् ।

राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै पहिलो पटक खुला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट गर्न लागिएको हो । नयाँ ऐन अनुसार सदस्य सचिव सिफारिस गर्न मन्त्रालयले सचिव थपलियाको नेतृत्वमा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो ।

प्राप्त निवेदनलाई सिफारिस समितिले गहन रुपमा अध्ययन गर्ने बताएको छ । समितिले संघीय संरचना अनुसार खेलकुद सञ्चालन र व्यवस्थापनको नेतृत्व लिन सक्ने अवधारणाको पक्षलाई आधार मान्दै सम्भावित सदस्य सचिवको नाम छनोट गर्नेछ ।

कार्ययोजनाको अध्ययन गर्दा समितिले कुनै उम्मेदवारसँग थप स्पष्ट हुन चाहेमा बोलाएर छलफल गर्न सक्नेछ तर दर्खास्त दिएका सबै उम्मेदवारको अन्तरवार्ता भने नहुने समिति सदस्य रिम रानाभाटले बताए ।

प्रस्तुत कार्ययोजनाकै आधारमा समितिले एक महिलासहित तीनजनाको नाम मन्त्रालयमा पेस गर्नेछ । बैठकबाट प्राप्त सोही नाम खेलकुद मन्त्रीले मन्त्रिपरिषद समक्ष सिफारिस गर्नेछन् । मन्त्रिपरिषद्ले प्रस्तावित नाममध्ये एकजनालाई चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer