२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

मनकारी दिवाकरलाल : सडक मानिसलाई १०८ दिनसम्म खुवाए खाना


बिर्तामोड, साउन ४ । सरकारले लागु गरेको लक डाउनको १०८ दिनसम्म झापा अर्जुनधारा ६ का दिवाकरलाल चौधरीको बिहानी समय सडकमै बित्यो । लक डाउनले सबै ठप्प भएपछि सडकमा आश्रित मानिसहरुलाई एक छाक खाना खुवाएका उनले शनिबारबाट विश्राम लिएका छन् ।

लक डाउन खुकुलो भएसँगै बजार खुल्दै गएपछि जनजीवन सहज हुँदैछ । सडकमा आश्रित मानिसहरु पनि खाना नपाएर भोकै बस्नुपर्ने अवस्था छैन । त्यसैले दिवाकरलालले १०८ दिनसम्म दैनिक ४० देखि ४५ जनालाई खाना खुवाउने काम बन्द गरेका छन् ।

सरकार र निजी क्षेत्रले रोजगार गुमाएका र विपन्न परिवारलाई खाद्यान्न तथा राहत वितरण गर्दै गर्दा सडकमै बसेर साँझबिहान पेट भर्ने फकिरहरुका निम्ति कसैको ध्यानदृष्टि पुगेको थिएन । दिवाकरलालले सडकलाई संसार सम्झेर बसेका बेसहाराका लागि सहारा बनेर देखाइदिए ।

चैत १९ गतेदेखि उनले आफ्नो मोटरसाइकलमा घरमै तयार खानाका बट्टा र पानीका बोत्तल झुन्ड्याएर बिर्ताबजार, शनिश्चरे, चारपाने, बुट्टाबारी र बसपार्क क्षेत्रका सडकमै गुजारा चलाउने ‘माग्ने’ हरुका हातमा तातो खाना राखिदिएका थिए । खानाको प्याकेट बनाउन दिवाकरलाललाई घरका सदस्यले सहयोग गरेका थिए ।

उनले एउटा संकल्प गरेका थिए, लक डाउन समाप्त नभइञ्जेल उनीहरुका लागि खानाको जोहो गरिरहने । चैत, बैशाख र जेठको घाम र असारको पानीझरीको कुनै पर्वाह नगरी उनले निरन्तर खाना खुवाइरहे । बैशाख १ नयाँ वर्षको दिन त उनले सबैजनालाई मासुभातकै व्यवस्था गरिदिएका थिए ।

विभिन्न होटलमा मागेर र फ्याँकिएको खानेकुरा खाएर पेट भर्नेहरुलाई खाना खुवाएका देखेर अमेरिकाबाट शान्ता राई सुब्बाले ५८ हजार ८२०, मोहित अधिकारीले २४ हजार २०३, बिर्तामोड–१ का प्रवेश बस्नेतले १० हजार, बिर्तामोडकी पार्वता खरेल बिमलीले पाँच हजार र कञ्चना ढकाल सिटौलाले पाँच हजार रुपैयाँ प्रदान गरेका थिए ।

त्यस्तै, बिर्तामोडका रोहित प्रसाईंले १० हजार रुपैयाँ बराबरको जिन्सी सामग्री प्रदान गरेका थिए भने वीरता जेसीजका सदस्य र लायन्स क्लब अफ बिर्तामोडका सदस्यले सहयोग गरेको दिवाकरलालले बताए । खाना खुवाउनका लागि अर्जुनधाराको भीमसेन मन्दिरले भाडावर्तन उपलब्ध गराएको बताउँदै उनले स्थानीयबासीले समेत यो काममा सहयोग गरेको बताए ।

यसैबीच, यही समयमा प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको पहलमा सडकमा बेवारिसे अवस्थामा रहेका तीनजना सडक महिलाको उद्धार गर्न सफल भएको उनले बताए । उनी स्थानीय, प्रदेश र संघीय सरकारले सडक मानवको विषयमा बेलैमा सोच्नुपर्ने बताउँछन् ।

वीरता जेसीज, लायन्स क्लब लगायत विभिन्न संघसंस्थामा आवद्ध रहेका दिवाकरलाल मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने उद्देश्यले यस्तो कार्य गरेको बताउँछन् । एनजिओ आइएमइ नामक शैक्षिक संस्थाका सञ्चालक समेत रहेका उनी आफूले गरेको कार्यमा परिवारको पूर्ण साथ र सहयोग रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer