२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

समर्पण भवनमै पिसिआर ल्याब सञ्चालन हुन्छ: मन्त्री कार्की


बिर्तामोड, साउन १० । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्न एकका लागि एक अभियानलाई कसैले अवरोध पुर्‍याउन नसक्ने बताएका छन् ।

शुक्रबार साँझ अन्तर्राष्ट्रिय झापाली समाजले आयोजना गरेको भर्च्युअल बैठकमा मन्त्री कार्कीले कहीँकतैबाट अवरोध आए त्यसलाई हटाउन आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । अभियानले कनकाईको कोटिहोमस्थित समर्पण भवनमा ल्याब स्थापना गरेर सरकारलाई हस्तान्तरण गर्ने यसअघि नै बताएको छ ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइको नाममा झापामा मेची अस्पताललाई मात्र ल्याब सञ्चालनको स्वीकृति दिने पत्र आएको बताइएको छ । मन्त्री कार्कीले ल्याबको संख्या बढाउनुपर्नेमा स्थापना भइसकेको ल्याब चल्न नदिने कुरा आउनु गलत भएको बताए ।

‘यो ल्याब कुनै हालतमा रोकिनु हुँदैन’, मन्त्री कार्कीले भने, ‘संघीय सरकारले त्यस्तो निर्णय गर्नु गलत हो, यो सच्याउनुपर्छ ।’ प्रदेश १ मा कम्तिमा पाँचवटा ल्याब हुनुपर्नेमा हाल तीनवटा मात्र रहेको र स्थापना भइसकेको ल्याब तुरुन्त सञ्चालनमा ल्याइनुपर्ने कार्कीको धारणा छ ।

बैठकमा जिल्ला समन्वय प्रमुख सोमनाथ विश्वकर्माले मेची अस्पतालबाहेक अन्यत्र ल्याबको आवश्यकता नरहेको बताएपछि मन्त्री कार्कीले प्रदेशमा ल्याब पर्याप्त नरहेको र बढीभन्दा बढी ल्याब सञ्चालनमा ल्याइने बताए । मन्त्री कार्कीले भने, ‘यो पवित्र अभियानलाई कसैले मनोबल कमजोर पार्ने गर्नु हुँदैन । तपाईंहरु (एकका लागि एक) अघि बढ्नुहोस्, कहाँ के मिल्दैन म कुरा गर्छु ।’

मन्त्री कार्कीले सरकारले निजी क्षेत्रलाई पनि न्यूनतम शुल्क लिएर ल्याब सञ्चालनको अधिकार दिइसकेकाले सञ्चालनमा अवरोध आउन नसक्ने प्रस्ट पारे । मेची अस्पतालको मातहतमा ल्याब सञ्चालन हुन नसके एकका लागि एक अभियानलाई कानुन संशोधन गरेर भए पनि अनुमति दिनुपर्ने उनको भनाइ छ ।

अभियान सुरु हुनुभन्दा अगाडि आफूसँग पटकपटक छलफल भएको कार्कीले बताएका थिए । ल्याबका विषयमा पनि आफू र सामाजिक विकास मन्त्रालयलाई अगाडि नै जानकारी गराइएको र कोटिहोम क्षेत्र भौगोलिक तथा अन्य हिसाबले पनि उपयुक्त स्थान रहेको उनको भनाइ छ । बैठकमा विश्वकर्माले भने अभियानले स्थापना गर्ने ल्याबका बारेमा आफूलाई थाहा नै नभएको बताएका थिए ।

त्यस्तै, मन्त्री कार्कीले समर्पण भवनमा सञ्चालनमा आउने ल्याबका लागि प्राविधिक खोजेर भए पनि ल्याउन जरुरी रहको बताए । ‘प्राविधिक कहाँ छन्, मेचीमा, धरानमा वा विराटनगर, उनीहरुलाई ल्याउनुपर्छ’, मन्त्री कार्कीले बैठकमा भनेका छन्, ‘गाँठो कहाँ परेको छ, सरकारले फुकाउनुपर्छ ।’

समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षतामा भएको बैठकमा संघीय सांसद एलपी साँवा, राजेन्द्र लिङदेन, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालगायत झापाली राजनीतिज्ञ सहभागी थिए । उनीहरुले कोटिहोममा पिसिआर ल्याब स्थापना भइसकेको र यथासक्य चाँडो सञ्चालनमा ल्याउन सरकार लाग्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा अभियानका संयोजक महेन्द्रकमार गिरीले समुदाय, सहकारी र सरकारको सहकार्यमा ल्याब सञ्चालनमा आउने स्पष्ट पारेका थिए । हालसम्म एक करोड ६८ लाख रुपैयाँ संकलन भइसकेको र ४७ लाख रुपैयाँ खाद्यान्न, भिटिएम, आरडिटीलगायतमा खर्च भएको गिरीले बताएका थिए ।

त्यस्तै, बैठकमा समाजका संरक्षक तथा निवर्तमान अध्यक्ष दिनेश पोखरेलले केही भ्रामक समाचारका कारण अन्योलता सिर्जना भए पनि यथार्थ त्यस्तो नरहेको प्रस्ट पारेका थिए । उनले अभियानका नेतृत्व र सदस्यहरु चिनिएका सामाजिक व्यक्तित्व भएकाले नडगमगाई काम गर्न अनुरोध गरेका थिए ।

समाजका उपाध्यक्ष दिपक ओलीले सहजीकरण गरेको बैठकमा समाजका पदाधिकारी तथा सदस्यहरु, संरक्षक तथा सल्लाहकारहरु, राष्ट्रिय समितिका सदस्यहरु, अभियानका सदस्यहरु तथा पत्रकारको सहभागिता रहेको थियो ।

यसैबीच, समाजका तर्फबाट पिसिआर ल्याब खरिदका लागि रकम संकलन संयोजक तथा वरिष्ठ उपाध्यक्ष दिपक खनालले साउन १२ गते बिर्तामोडमा एक कार्यक्रमका बीच अभियानलाई २५ लाख रुपैयाँका चेक हस्तान्तरण गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer