२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

इच्छाको चुली


(लघुकथा)

-तुलसीराम खरेल

यसपालिको धान खेती देखेर इच्छाराममा दसैँ मस्तले मनाउने इच्छा जागेर आयो । बर्खाभरिको यथेष्ट वर्षाले प्रफुल्लित उनको मुखमण्डलमा हर्षका बादलहरु छरिएका देखिन्थे ।

पत्नी सीतालाई उनले भने, “ए बुढी यसपालि धान राम्रो फल्छ । भकारीभरी धान राखौँला ।”
“डाँडा खेतको अधियाँ तिरेर पच्सीस तीस मनजति बेचिन्छ पनि होला ।”

सीताले भनिन् “ पच्चीस तीस मन बेचियो भने त दसैँ तिहार राम्रै मनाउन पाइन्छ होला ।”
भदौको चर्का घामले धानका बोटहरु पहेँला देखिन थालेका थिए । सबै किसानहरु युरिया मलको लागि नजिकैको वडा कार्यालयको डिपोमा जम्मा भइरहेका देखिन्थे ।

“दिनैपिच्छे धायो केही न केही ।”
यस्तै कुरा गर्दै सबै दिनहुँ फर्कन्थे । कोभिड भाइरसको आतंकले बन्दाबन्दी गरिएको थियो । सामाजिक दूरी र मास्क अनिवार्य गरिएको थियो । युरिया लिन बोरा बोकेका सैयौँ किसानहरु भेला भएर रित्तो हात फर्कन बाध्य देखिन्थे ।

कृषिमन्त्रीले बोलेको कुरा आयो । विदेशको एउटा मुलुकवाट पैँचो माग्ने रे युरिया । इच्छारामका मरेका इच्छाहरु फेरि तरंगित हुनथाले । भरी भकारी धान र समृद्ध दसैँको दृश्य उसको टाउकोभरि नाच्न थाल्यो ।

“मल कहिले आउँछ ?” सीताले सोधी ।
“भरे भोलि आइहाल्छ नि”, इच्छारामले विश्वास व्यक्त गरे ।

“कम्तिमा तीन महिना लाग्छ रे पैँचो मल आइपुग्न”, गाउँमा गाइँगुइँ हुनथाल्यो ।
इच्छाराम र सीताको इच्छा हावामै उड्ने भयो । कात्तिकको अन्तिममा युरिया आयो । आधि जमिनको अगुवा धान काटिसकिएको थियो ।

“सोचेको भन्दा आधा पनि उत्पादन भएन । पसिना मात्रै खेर गयो ।”
सबैजना किसानको एउटै भनाइ थियो । खाल जग्गामा भदौतिर रोपेको धानमा मल हाल्न पाइएला भनेर झिनो आशा बचेकै थियो । समाचार सुनेपछि इच्छारामको झिनो आशाको छानोमा प्वाल पर्यो ।

एफएमबाट इच्छारामले सुने, “पैँचो मल बजारको आवश्यकताको एकतिहाइ जतिमात्र आएकोले वितरण हुन सकेन । अब तोरी र गहुँ खेतीको लागि किसानहरुलाई वितरण हुनेछ ।”
पहेँलिएका धानका बोटहरु हेर्दै इच्छारामले गहुँ र तोरी खेतीको इच्छा चुल्याउन थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer