२०८३ बैशाख २१ सोमबार
Jhapa Today
Adv top

डेढ महिनाअघि पक्राउ परेकी बिर्तामोडकी खातुन चोरीमा संलग्न आलमकी श्रीमती, दुईजना पक्राउ


बिर्तामोड, बैशाख २१ । झापाको अर्जुनधारामा चोरी गरेको आरोपमा भद्रपुरमा हिजो पक्राउ परेका बिर्तामोडका आसिक आलम डेढ महिनाअघि समातिएकी बिर्तामोड-४ नयाँबारीकी २८ वर्षीया मसिना खातुनको पति रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि नै आलमलाई पक्राउ गर्न जाँदा नभेटिएपछि उनको श्रमती खातुनलाई नियन्त्रणमा लिएको थियो । उनका साथमा छोरी आसिदा खातुनलाई समेत प्रहरीले लगेको थियो ।

सो बेला प्रहरीले खानतलासी गर्दा मसिना खातुनका श्रीमान आलम घरमा फेला परेका थिएनन् । त्यसकारण प्रहरीले मसिना खातुनको साथमा रहेकी उनकी छोरी आसिदा खातुनलाई समेत लिएर आएको थियो । मसिना र उनकी छोरी आसिदालाई पक्राउ गरेको भन्दै त्यसबेला प्रहरीको आलोचना भएको थियो ।

चोरीमा संलग्न भएर फरार भएका दुईजना मुख्य अभियुक्तलाई पक्राउ गरेर प्रहरीले डेढ महिनाअघिको घटनालाई पुष्टि गरेको छ । गत मंसिर २ गते अर्जुनधारा-६ कप्तानबारी बस्ने ४० वर्षीय दुर्गाबहादुर पौडेल खत्रीको घरमा भएको चोरीका घटनामा संलग्न आलम र भारत बंगाल घर भएका अंसार आलमलाई प्रहरीले हिजो राति भद्रपुर मेची पसलबाट पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा चैत १ गते उनीहरुमाथि किटानी जाहेरी परेको थियो भने जिल्ला अदालत झापाबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो । चोरी गरेपछि फरार भएका उनीहरु भारतमा लुकेर बसेका थिए ।

गत फागुन २९ गते राति ११ः३० बजे बिर्तामोड ४ नयाँबारीस्थित जगत बस्नेतको घरमा डेरा गरी बस्ने आलम लगायतले लागुऔषध बिक्री गरिरहेको र चोरीका धनमाल लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली अपरेसनमा खटिएको थियो ।

टोलीले उक्त स्थानमा खानतलासी गर्दा सोही घरमा डेरा गरी बस्ने आलमकी श्रीमती खातुनको साथबाट स्रोत नखुलेको शंकास्पद नेपाली रकम ६ लाख ३५ हजार ४६०, भारतीय रुपैयाँ २ लाख ४६ हजार, करिब ३ तोला सुन र ४ तोला चाँदीका विभिन्न गहनाहरू बरामद गरेको थियो ।

बरामद भएका ती धनमाल चोरीसँग सम्बन्धित हुन सक्ने देखिएकाले अनुसन्धानका लागि मसिना खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Adv footer