२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड उवासंघको चुनाव पुस ७ मा, अध्यक्षका सात आकांक्षी


-हिमाल खरेल

बिर्तामोड, असोज ६ । बिर्तामोड उद्योग वाणिज्य संघले चुनावी मिति टुंगो लगाएको छ । आज मंगलबार संघको कार्यालयमा बसेको बैठकले यही पुस ७ गते निर्वाचन गर्ने निर्णय गरेको हो । संघले मंसिर १५ गतेभित्र नवीकरण गर्न सदस्यहरुलाई अनुरोध पनि गरेको छ ।

संघमा यसअघिको निर्वाचनमा दुई हजार तीन सय मतदाता रहेकोमा आगामी चुनावमा चार हजार पुग्ने अनुमान गरिएको अध्यक्ष कुमार भट्टराईले बताए । सदस्य संख्या बढेसँगै अघिल्ला निर्वाचनभन्दा यसपालिको चुनाव रोमाञ्चक हुने बताइएको छ ।

अहिलेको नेतृत्वले एक उपाध्यक्ष, एक सचिव र तीन सदस्यबाहेक प्यानल नै जितेको थियो । नेपाली कांग्रेस र तत्कालीन माओवादीको समीकरण तथा तत्कालीन एमाले र राप्रपाको समीकरण चुनावी मैदानमा उत्रिएका थिए । यसपटक एमाले र माओवादी मिलेर नेकपा बनेकाले चुनावमा केही सहज हुने उनीहरुको आँकलन छ ।

अध्यक्षका आकांक्षी सातजना

आसन्न चुनावमा अध्यक्ष पदका लागि सातजनाले आकांक्षा देखाएका छन् । बिर्तामोडका व्यवसायी र उद्योगीमाझ उनीहरुको चर्चा सुरु हुन थालेको छ ।

अध्यक्षका लागि निवर्तमान अध्यक्ष बलराम कार्कीले इच्छा देखाएका छन् । संघ जिल्लाको शाखा हुँदा दुई कार्यकाल अध्यक्ष भइसकेका कार्कीलाई उनको कार्यकालमा व्यवसायीले रुचाएका थिए ।

अध्यक्षका लागि प्रकाश शिवाकोटीलाई पनि हेरिएको छ । तर, प्रशान्त भण्डारीले पनि अध्यक्षमा इच्छा देखाएकाले उम्मेदवार को हुन्छ भन्ने यसै भन्न नसकिने व्यवसायीको भनाइ छ । संघमा शिवाकोटी वरिष्ठ उपाध्यक्ष र भण्डारी महासचिव छन् । वर्तामान उद्योग उपाध्यक्ष राजु न्यौपाने पनि अध्यक्षका अर्का दाबेदार हुन् ।

अध्यक्षको रुपमा अर्का प्रत्यासी हुन् पार्वता खरेल बिमली । संघको इतिहासमा हालसम्म महिला अध्यक्ष नभएकोले पार्वताले आफूले टिकट पाउनुपर्ने अडान राख्ने बताइएको छ । हाल उनी जनसम्पर्क उपाध्यक्ष छिन् ।

व्यवसायीमाझ अध्यक्षका अर्का उम्मेदवार सुवास भट्टराई हुन् । संघको संस्थापक महासचिव रहेका उनलाई हालसम्म कांग्रेसनिकट उम्मेदवारले जित्दै आएको संघमा जित्न त्यति सहज भने छैन । दुई कम्युनिष्ट एक भएको र नयाँ सदस्य दर्तामा निक्कै आक्रमक देखिएको नेकपा यसपालि दह्रो अवस्थामा छ ।

अध्यक्षका लागि नारायणप्रसाद चिमरियाले पनि इच्छा देखाएका छन् । संघको वाणिज्य उपाध्यक्ष रहेका उनी तत्कालीन चुनावमा जित्ने एमालेका शीर्ष उम्मेदवार हुन् । तत्कालीन प्यानलबाट अध्यक्षलगायत पदाधिकारी र सदस्यहरु हार्दा पनि उनले सहज जीत निकालेका थिए ।

महासचिवमा दुईजनाको चर्चा

आसन्न चुनावमा महासचिव पदका लागि सञ्जीव घिमिरेले इच्छा देखाएका छन् । संघमा हाल सदस्य रहेका उनी सक्रिय र युवा आकांक्षी हुन् । त्यस्तै, महासचिवमा वर्तमान वाणिज्य सचिव रविन्द्र भट्टराई पनि इत्छुक छन् ।

यस्तो थियो यसअघिको मतपरिणाम

कुमार भट्टराई १ हजार १ सय ३१ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी हनुमान मित्तलले ७ सय ९६ मत ल्याएका थिए । मित्तललाई पछ्याएका हरि प्रसाईंले १ सय १८ मत ल्याए ।

संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश शिवाकोटी १ हजार ३ सय ६२ मत ल्याउँदै विजयी भए । उनका निकटम प्रतिद्वन्दी गंगाप्रसाद मैनालीले ६ सय ५४ मत ल्याए । उद्योग उपाध्यक्षमा १ हजार सय ३६ मत ल्याउँदै राजु न्यौपाने निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी कुलप्रसाद खरेलले ७ सय ७८ मत ल्याए ।

वाणिज्य उपाध्यक्षमा १ हजार ४५ मत ल्याउँदै नारायणप्रसाद चिमरिया विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी सार्दुलहाङ ओलीले ९ सय ३६ मत ल्याए । जनसम्पर्क उपाध्यक्षमा पार्वता खरेल बिमली १ हजार २ सय ६७ मत ल्याउँदै विजयी भइन् । उनकी निकटम प्रतिद्वन्द्वी दुर्गा खतिवडाले ७ सय २० मत ल्याइन् ।

संघको महासचिवमा भेषराज भण्डारी (प्रशान्त) विजयी भए । उनले १ हजार १ सय ३० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी सुवास भट्टराईले ८ सय ७५ मत प्राप्त गरे ।

उद्योग सचिवमा १ हजार १ सय ६४ मत ल्याउँदै रविन्द्र भट्टराई विजयी भए । उनका निकटम प्रतिद्वन्दी राजन थापाले ८ सय २३ मत ल्याए । वाणिज्य सचिवमा १ हजार १६ मतका साथ प्रकाश घिमिरे विजयी भए । उनका प्रतिद्वन्द्वी घनश्याम मुन्नाले ९ सय ७१ मत पाए । कोषाध्यक्षमा १ हजार ९७ मत ल्याउँदै मनोज अग्रवाल विजयी भए । उनका प्रतिद्वन्द्वी पवन खेडिया अग्रवालले ८ सय ५८ मत प्राप्त गरे ।

त्यस्तै, संघको कार्यसमिति सदस्यमा खुला प्रतिस्पर्धाबाट खगेन्द्रप्रसाद खरेल, कुशल खतिवडा, राजकुमार घिमिरे राजु, गौरीशंकर गुप्ता टिन्कु, सञ्जीव घिमिरे, राजकुमार साह, राजु सापकोटा विजयी भएका थिए । महिला सदस्यमा उर्मिला बिमली खरेल र राधिका चुडाल हुमागाईं निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer