२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

त्यो बुढो रुख (कविता)


-तुलसीराम खरेल

एउटा पुरानो स्तम्भ
अटल खम्बा जस्तो
निर्जीव जस्तो
फेरि सजीव जस्तो
बेकसुर पाता कसेर
बाँधिएको चोर जस्तो
अनन्त जराहरु गाडेर माटोमा
ठिङ्ग उभिएको
त्यो बुढो रुख ।

गुजुमुज्जु पातहरु
हरितकणले भरिभराउ
भान्साघर रे उसको
खाना बनाउँदै खान्छ रे
ख्वाउँछ रे सबैलाई
दानी महादानी जस्तो
क्रोमोप्लास्टले रङ्गीन बनाउँछ
फूल र फलहरुलाई
आनन्द दिन्छ जगतमा
हाँगाहरु फैलाउँदै गगनमा
ठिङ्ग उभिएको
त्यो बुढो रुख ।

ग्यासहरु भित्र र बाहिर
पस्दै निस्कँदै
प्राण वायु रे
विकार वायु रे
स्टोमाटाहरु द्वार रे उसका
विकारहरु फाल्ने
शिकारहरु पाल्ने
आँखाले नदेखिने
अनेकौँ अवयवहरु पालेर
ठिङ्ग उभिएको
त्यो बुढो रुख ।

लाग्छ उ युगयुग बाँच्न सक्छ
जूनेली रातमा नाच्न पनि सक्छ
नसुनिने भाखामा हास्न पनि सक्छ
ऊ निर्जीव होइन
जे सी बोसले
पल्सेटोरी क्रिया देखेकै हुन्
इलेक्ट्रिक प्रोव प्रयोगबाट
झण्डै पाँच हजार रसायनहरु
एक हजार रासायनिक प्रतिक्रियाहरु
हरेकपल चलाउँदै चलाउँदै
ठिङ्ग उभिएको
त्यो बुढो रुख ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer