२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

नाट्टा प्रदेश १ को अध्यक्षमा झापाका उदयकुमार


बिर्तामोड, असोज १७ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) प्रदेश १ को अध्यक्षमा झापाका व्यवसायी उदयकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । उनी बिर्तामोडको पञ्चकन्या ट्राभलका सञ्चालक हुन् ।

शनिबार झापाको बिर्तामोडमा सम्पन्न संस्थाको नवौँ अधिवेशनले श्रेष्ठको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा विराटनगरको इस्टर्न एसियाका पुण्यप्रसाद भट्टराई, उपाध्यक्षमा धुलाबारीको श्रीजन ट्राभलका ऋषिराज तिम्सिना, महासचिवमा बिर्तामोडको काउन्सिल ट्राभलका नविन खरेल, सचिवमा विराटनगरको प्रारम्भ ट्राभलका सुरेन्द्रप्रसाद पौडेल र कोषाध्यक्षमा काँकरभिट्टाको आसाम ट्राभलका सजीत तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा इटहरीको मिसन ट्राभलका जीवन पराजुली, बिर्तामोडको शाश्वत ट्राभलका मनरथ सिलवाल, दमकको गंगा ट्राभलका धर्मराज शिवाकोटी र विराटनगरको धनकुटेली ट्राभलका चक्रबहादुर कार्की निर्विरोध निर्वाचित भएका छन् । अधिवक्ता तेजप्रसाद कट्टेल संयोजक रहेको निर्वाचन समिति सदस्यमा नाट्टाका केन्द्रीय सदस्य हरिकुमार श्रेष्ठ र पत्रकार हिमाल खरेल थिए ।

नवनिर्वाचित समितिलाई नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईंले शुभकामना दिएका थिए । उनले नाट्टाले पर्यटनको क्षेत्रमा धेरै काम गर्न सक्ने भएकाले आगामी कार्यकालमा प्रदेश १ ले रणनीतिक योजना बनाउनेपर्ने बताए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा अझ गतिशील र चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थाको कार्यालय स्थापना, वेभसाइट निर्माण, सदस्य संख्या बृद्धिलगायत कार्य प्राथमिकतामा राखेको बताए ।

यसअघि अधिवेशनको खुलासत्रमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, नाट्टाका केन्द्रीय महासचिव सुधीर उपाध्याय, केन्द्रीय सदस्य डेन्डी शेर्पा, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को पर्यटन समिति संयोजक तथा हानका प्रदेश सदस्य भवेशकुमार श्रेष्ठ, बाटाका अध्यक्ष फणिन्द्र अधिकारी, होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठ, क्यान झापाका अध्यक्ष सुमन शर्मा जमरकट्टेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनको अवसर पारेर संस्थापक अध्यक्ष हेमराज बास्तोला र अग्रज पर्यटन व्यवसायी मोहन निरौलालाई सम्मान गरिएको थियो । पत्रकार लक्ष्मी उप्रेतीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष भुपालराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer