२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

‘मार्सी’ बियर ल्याउँदै बिएन्डसीका सञ्चालक प्रसाईं


बिर्तामोड, कात्तिक १ । बिएन्डसी टिचिङ अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले ‘मार्सी’ बियर बजारमा ल्याउने भएका छन् ।

प्रसाईंले भैरहवाको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री करिब चार अर्ब रुपयाँमा किनेका छन् । टाइगर ब्रुअरीले टेन्सबर्ग बियर बजारमा ल्याउँदै आएको छ । प्रसाईंले टेन्सबर्गसँगै मार्सी बियर पनि बजारमा ल्याउन लागेका हुन् ।

जुम्लामा उत्पादन हुने मार्सी चामल मिसाएर बियर बनाइने प्रसाईंले जानकारी दिए । नेकपा एमाले र माओवादीबीच पार्टी एकताका क्रममा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ठिमीस्थित उनको घरमा मार्सी चामलको भात खुवाएपछि ‘मार्सी’ बारे चर्चा सुरु भएको थियो ।

प्रसाईंका अनुसार कम्पनीले मार्सी प्रिमियम र मार्सी स्ट्रोङ दुईवटा बियर नेपाली बजारमा ल्याउँदैछ । उनले आफ्नो कम्पनीको उत्पादन पनि सार्वजनिक गरेका छन् । हरियो बोत्तलमा मार्सी प्रिमियम र पहेँलो बोत्तलमा मार्सी स्ट्रोङ बियर छन् । क्यान बियर पनि बजारमा आउनेछ ।

कम्पनीको अध्यक्ष रहेका प्रसाईंले स्वदेशी उत्पादन स्वदेशमै खपत गर्ने उद्देश्यसाथ बियर कम्पनीको सुरुवात गरेको बताए । उनले मार्सी चामललाई प्रयोग गर्ने बताएका छन् । नेपालमा ७० प्रतिशत जौँ र ३० प्रतिशत चामल मिसाएर बियर उत्पादन हुने गरेको छ ।

मार्सी बियरको ट्रेडमार्क दर्ता भइसकेको छ । अहिले बोत्तलहरूको तयारी अन्तिम चरणमा पुगेको प्रसाईंले बताए । उक्त फ्याक्ट्री प्रतिघन्टा २२ हजार बोत्तल बियर उत्पादन क्षमताको छ । प्रसाईंले मार्सी बियर नेपालकै उच्च गुणस्तरको बनाउने दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer