२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सबैखाले व्यापारमा दुर्गा प्रसाईंको ३० अर्ब लगानीः फागुनदेखि मार्सी बियर, माफिया ह्विस्की छिट्टै


झापा, माघ २० । झापा बिर्तामोडका व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन दोस्रो सातादेखि मार्सी बियर बजारमा ल्याउँदैछन् । भैरहवामा रहेको टाइगर बियरको फ्याक्ट्री खरिद गरेर त्यसैमा मार्सी बियर उत्पादन गर्नेछन् । यसका लागि उनले हालसम्म साढे ४ अर्ब रुपैयाँ लगानी गरिरहेका छन् ।

थप २ अर्ब रुपैयाँ थप लगानी गर्ने योजना बनाएका छन् । हाल कम्पनीमा ५ सयभन्दा बढी कर्मचारी कार्यरत रहेको र आगामी दिनमा २ हजार व्यक्तिले रोजगारी पाउने बताए ।
मार्सी बियर भारत निर्यातका लागि ४० लाख बोतलका लागि सम्झौता पनि भइसकेको उनले जानकारी दिए । उनका अनुसार उद्योगबाट एक घण्टामा २२ हजार बोतल उत्पादनको क्षमता रहेको बताए ।

तीन वर्षअघि तत्काली नेकपा एमाले र माओवादीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकीकरणका सिलसिलामा मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएपछि उनको आलोचना भएको थियो ।

त्यसको तीन वर्षपछि त्यही ‘मार्सी’ नामलाई क्याच गरेर त्यसैका नाममा बियर उत्पादन गर्दैछन् । उनका अनुसार फागुन महिनादेखि मार्सी बियर उत्पादन भई बजारसम्म पुग्नेछ । कर्णालीमा उत्पादन हुने मार्सी चामल ३० प्रतिशत र बाँकी ७० प्रतिशत माल्ट प्रयोग गरेर मार्सी नाममा बियर उत्पादन गर्ने उनले तयारी गरिरहेका छन् ।

हाल मार्सी बियर प्रिमियम र स्ट्रङ गरी दुई वटा ब्रान्डमा उत्पादन हुनेछ भने भविष्यमा ड्राफ्ट बियर पनि उत्पादन गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

कसरी आयो मार्सी बियरको अवधारणा ?
प्रसाईं भन्छन्,


तत्कालीन नेकपा एमाले र नेकपा माओवादीका दुवै अध्यक्षलाई पार्टी एकीकरणको सिलसिलामा मैले घरमा बोलाएको थिए । घरमा जुम्लाबाट ल्याएको रातो चामल घरमा थियो । त्यो चालम स्वास्थ्यका लागि राम्रो हो भन्ने मलाई जानकारी थियो । तर मलाई त्यो मार्सी चामल हो भन्ने थाहा थिए ।

केपी शर्मा ओली किड्नीको बिरामी र प्रचण्ड मधुमेहको बिरामी भएकाले स्वास्थ्यका लागि पनि राम्रो हुने भएकाले श्रीमतीलाई त्यहीँको खाना बनाउन भनेको थिएँ । त्यो फोटोलाई मेरो ड्राइभरले खिचेर फेसबुकमा हालिदिएछ ।

त्यससपछि त मलाई राष्ट्रघाती नै हो भन्ने जसरी निकै खेदे । मार्सीका नाममा सबै सामाजिक सञ्जाल, सबै मिडिया र त्यहाँ काम गर्ने पत्रकार सबैले ३ वर्षजति त मलाई निकै खेदियो । त्यही अनुसार म पनि भागेँ ।

तर पछि मलाई अब भागेर हुँदैन भन्ने लाग्यो । सबैलाई पाठ सिकाउनुपर्छ भन्ने हिसाबले मैले नेगेटिभभित्रै पोजिटिभ खोजेको हो । अनि यही मार्सीका नाममा व्यवसाय सुरु गर्ने निधो गरेँ ।

त्यतिमात्र होइन मार्सी चामलको माग बढ्न थालेपछि कर्णालीमा यसको खेती गर्नेहरु बढ्न थालेका छन् । रोजगारीका लागि भारत जाने त्यहाँका मानिसहरु अहिले त्यहीँ बसेर मार्सी धान उत्पादन गरिरहेका छन् । यसले त्यहाँको जीवनस्तर उकासिएको छ भने त्यहाँको चामलले बजार र मूल्य दुवै पाएको छ ।

यसबीचमा मलाई माफिया समेत भनियो । सबैले माफिया भनेर मेरो दुष्प्रचारसमेत गरे । माफिया भनेको के हो ? मैले लाघुऔषधको कारोबार गरेको छैन, तस्कर होइन, हतियार ओसारपसार गर्दैन, मानवबेचबिखन गर्दैन ? भनेपछि म कसरी माफिया भएँ त ? काम गर्ने हिसाबमा, उद्योग खोल्ने हिसाबमा, रोजगारी सिर्जना गर्ने हिसाबमा हो भने म माफिया नै हो । काम गर्ने मान्छेलाई माफिया भन्ने हो भने ठिक छ । म माफिया नै सही । अब त मलाई माफिया भन्ने शब्द सुन्दासुन्दै राम्रो लाग्न थाल्यो । भोलिका दिनमा माफिया ब्रान्डमै उद्योग खोलिदिन पनि सक्छु ।

जब मैले मेडिकल कलेज पनि सञ्चालन गर्न थाले तब माफिया भनेर निकै दुष्प्रचार गरियो । अब त्यही मार्सी चामल प्रयोग गरेर बियर उत्पादन गर्न थालेको सबैले बधाईको ओइरो छ ।

टाइगर ब्रुअरी किनेपछि मैले कम्पनीमा कार्यरत कर्मचारीहरुसँगको मिटिङमा आफूले पैसा कमाउन लगानी गरेको होइन भनेर निर्देशन दिएको छु । कर्मचारीहरुलाई भनेको छु कि मैले पैसा कमाउन यहाँ लगानी गरेको होइन, देशमै हजारौँलाई रोजगारी सिर्जना गर्ने र राज्यलाई बढीभन्दा बढी कर तिररेर योगदान गर्नका लागि लगानी गरेको हुँ ।

आगामी वर्ष मार्सी बियर उत्पादन गर्ने कम्पनीले राज्यलाई १० अर्ब रुपैयाँ कर तिर्नुपर्छ । मलाई यहाँ कमाएर विदेश लानु छैन । टाइगर ब्रुअरीमा अहिले ५०० जना कर्मचारी छन् । आगामी केही वर्षमा २ हजार देखि २२ कर्मचारी हुन्छन् ।

मार्सी बियर उत्पादन गर्ने क्षेत्र ५ बिघा छ । हाम्रो ब्रुअरी देशकै राम्रो प्रविधियुक्त कम्पनी हो । एक ठाउँमा जौँ र मार्सी हालेपछि मान्छेले केही गर्नु पर्दैन । मेसिनले नै प्रोसेसिङदेखि प्याकेजिङसम्मको काम गर्छ । पूर्णरुपमा स्वचालित हुन्छ । मार्सीको ड्राफ्ट बियर पनि ल्याउने तयारी गरिरहेको छु ।

एक बोतल बियरको बनाउन १३ देखि १४ रुपैयाँ मात्रै

मार्सी बियरको मूल्य बजारमा उपलब्ध अन्य बियरहरुको जस्तै हुन्छ । बियर बनाउने संसारभरको तरिका एउटै हो । ब्रान्ड बनाउन मात्रै समय लाग्ने हो । उच्च हिमाली क्षेत्रमा फल्ने मार्सी धानको खुदी हालेर बनाएको बियर ब्रान्ड त त्यसै पनि हुने नै भयो । यसको स्वाद पनि फरक हुन्छ नै ।

एक बोतल बियर उत्पादन गर्न जम्मा १३ देखि १४ रुपैयाँ मात्रै खर्च हुने रहेछ । तर, बोतललाई १७ रुपैयाँ पर्छ । तर, १७० रुपैयाँचाहिँ सरकारलाई कर बुझाउनुपर्छ । यसो हुँदा एकबोतल बियर २०० रुपैयाँमा गोदामबाट निस्कन्छ । उत्पादन गर्ने लगानीकर्ताले ठुलो लगानी गरेको हुन्छ । उत्पादकले प्रतिबोतल १०० रुपैयाँ त फाइदा राख्नै पर्यो । त्यसो गर्दा एक बोतल बियरको मूल्य ३०० रुपैयाँ पुग्यो । र डिलर, सब डिलर हुँदै खुद्रादेखि तारे होटलसम्म सबैले नाफा खाँदा उपभोक्तालाई बढी मूल्य पर्ने हो ।

माफिया ह्विस्की छिट्टै

मलाई धेरैले माफिया भनेर खेदे । म त नेगेटिभभित्र पोजेटिभ खोज्ने मान्छे हुँ । अब माफिया ह्विस्की पनि छिट्टै ल्याउँछु । त्यसका लागि जग्गा खोजिरहेको छु । उपयुक्त स्थानमा जग्गा पाउनेबित्तिकै प्लान्ट लगाउँछु । आखिर मान्छेहरुले यस्तै शब्द मन पराउँदा रहेछन् ।

२५ अर्ब लगानी

२ वटा अस्पतालमा मेरो १२ अर्ब रुपैयाँ बराबरको लगानी छ । त्यसैगरी, बिर्तामोडमा तारे होटल बनाउँदैछु । त्यसमा ३ अर्ब रुपैयाँ लगानी हुनेछ । टाइगर ब्रुअरीमा साढे ४ अर्ब लगानी भइसकेको छ भने अब २–३ अर्ब रुपैयाँ लगानी थप गर्दैछु । अन्य व्यापार व्यवसाय पनि छन् । सबै गरेर मेरो ३० अर्ब रुपैयाँको हाराहारीमा लगानी छ ।

आजका दिनमा मलाई मेडिकल कलेज सञ्चालन गर्न दिएको भए ४० जना डाक्टरले निःशुल्क अध्यापन गर्ने थिए । यसले राज्यलाई त फाइदा नै पुग्थ्यो होला नि होइन ? आजका दिनमा मैले पूर्वमा अन्तर्राष्ट्रियस्तरको अस्पताल सञ्चालन गरिरहेको छु । मैले सञ्चालन गरेको अस्पताल नेपालका कुनै पनि अस्पतालभन्दा स्तरीय छ ।

ओली, प्रचण्ड र देउवा सबैसँग राम्रो सम्बन्ध

यो देशका सबै ठुला नेताहरुसँग मेरो राम्रो सम्बन्ध छ । प्रधानमन्त्री केपी ओली मेरो हजुरबुबा हुनुहुन्छ भने नेकपा अध्यक्ष प्रचण्डसँग मेरो पारिवारिक सम्बन्ध छ । जे होस् उहाँहरुलाई भेट्न मैले समय लिइरहनु पर्दैन । उहाँहरुले पनि मलाई असाध्यै माया गर्नुहुन्छ । किनभने उहाँहरुलाई पनि थाहा छ कि यो दुर्गा प्रसाईं भन्ने मान्छे ठिक छ । काम पनि लाग्छ । त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा दाइ, शेखर कोइराला दाइ सबैसँग मेरो राम्रो सम्बन्ध छ । (क्लिकमान्डुबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer