२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा बढ्यो व्यवसायीको चुनावी सरगर्मी, ४६०० मतदाता


मतदाताको अन्तिम नामवाली तयार पार्दै कार्यालय सचिव गौतम ।

बिर्तामोड, माघ २९ । अघिल्ला निर्वाचनमा भन्दा झन्डै दोब्बर संख्यामा सदस्य (मतदाता) भएपछि बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचन रोमाञ्चक बन्ने भएको छ । यसपालि तीव्र प्रतिस्पर्धा हुने पनि देखिएको छ ।

संघका कार्यालय सचिव राजु गौतमका अनुसार फागुन १६ गते हुने निर्वाचनमा चार हजार छ सयको हाराहारीमा मतदाता रहनेछन् । यही माघ २५ गतेभित्र बिर्तामोड नगरका उद्योगी व्यवसायीले नवीकरण गरिसकेका छन् । अहिले सदस्यको अन्तिम नामवाली टुंगो लगाउने काम भइरहेको छ ।

एउटै फर्मको तीनजनासम्म उम्मेदवारले अलगअलग नवीकरण गरिदिएपछि सदस्य संख्या छाट्ने काम भइरहेको गौतमले बताए । संघमा यसअघिको निर्वाचनमा दुई हजार ४४३ मतदाता रहेका थिए । यसबाहेक १० जना पूर्वअध्यक्ष मतदाता थिए ।

फागुन १६ गतेको निर्वाचनका लागि दलगत उम्मेदवार हुने प्रस्ट छ । गत निर्वाचनमा जस्तै यसपालि पनि नेकपा र नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी देखिएका छन् । नेकपाले राप्रपासँग चुनावी गठबन्धन गरिसकेको छ । यो प्यानलले उम्मेदवार पनि लगभग टुंग्याइसकेको छ । कांग्रेसले दुई दिनभित्र टुंगो लगाउने जनाएको छ ।

अध्यक्षमा सुवासको उम्मेदवारी

नेकपा र राप्रपानिकट व्यवसायीको नेतृत्व युवा व्यवसायी सुवास भट्टराईले गर्ने भएका छन् । उनी यसअघि संघको महासचिव रहिसकेका छन् । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन माओवादीको समीकरण तथा तत्कालीन एमाले र राप्रपाको समीकरण चुनावी मैदानमा उत्रिएका थिए ।

यसपटक एमाले र माओवादी मिलेर नेकपा बनेकाले चुनावमा केही सहज हुने उनीहरुको आँकलन छ । पार्टी र त्यसका केही भातृ संगठन राजनीतिक किचलोका कारण अलग भए पनि बिर्तामोडका व्यवसायी भने एक छन् ।

यो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नारायण चिमरियाको उम्मेदवारी रहनेछ । त्यस्तै, वाणिज्य र उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, ओमप्रकाश श्रेष्ठ, रामकृष्ण अधिकारीलगायतको चर्चा छ ।
जनसम्पर्क उपाध्यक्षमा उर्मिला बिमली खरेल र महासचिवमा उद्योगी अर्जुन मैनालीको लगभग टुंगो लागेको छ । वाणिज्य र उद्योग सचिव तथा सदस्यका उम्मेदवार भोलिसम्म टुंगो लगाउने बताइएको छ ।

कोषाध्यक्षमा दुर्गा थपलिया र सहकोषाध्यक्षमा रञ्जु प्याकुरेल तथा सदस्यमा खगेन्द्र खरेल, कृष्ण पौडेल, बिसन लिम्बू, गुञ्जन प्रसाईं, रुचि शिवाकोटी, नीरु उप्रेतीको चर्चा छ ।

कांग्रेसले टुंगो लगाउँदै

कांग्रेसले पनि उम्मेदवारको अन्तिम सूची तयार पार्दै छ । कांग्रेसबाट अध्यक्षका लागि प्रकाश शिवाकोटी र भेषराज (प्रशान्त) भण्डारीले दह्रो दाबी गरेका छन् । संघमा शिवाकोटी वरिष्ठ उपाध्यक्ष र भण्डारी महासचिव छन् । वर्तामान उद्योग उपाध्यक्ष राजु न्यौपाने र जनसम्पर्क उपाध्यक्ष पार्वता खरेल बिमली पनि आकांक्षी हुन् । संघको इतिहासमा हालसम्म महिला अध्यक्ष नभएकोले पार्वताले आफूले टिकट पाउनुपर्ने अडान राख्ने बताइएको छ ।

त्यस्तै, वाणिज्य उपाध्यक्षमा राजकुमार (राजु) घिमिरेले दाबी गरेका छन् । महासचिवमा दुईजनाको चर्चा छ । आसन्न चुनावमा महासचिव पदका लागि सञ्जीव घिमिरेले इच्छा देखाएका छन् । महासचिवमा रविन्द्र भट्टराई पनि इच्छुक छन् ।

वाणिज्य र उद्योग सचिवमा कुशल खतिवडा, दिपेन्द्र राउत, राजकुमार शाह, कोषाध्यक्षमा मनोज अग्रवाल, एजाज अहमद अन्सारी तथा सहकोषाध्यक्षमा राधिका चुडालको चर्चा छ । सदस्यमा चन्द्र कट्टेल, जीवनकुमार खड्का, विशाल थापालगायत १५ जनाभन्दा बढीले इच्छा देखाएका छन् ।

यस्तो थियो यसअघिको मतपरिणाम

कुमार भट्टराई १ हजार १३१ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी हनुमान मित्तलले ७९६ मत ल्याएका थिए । मित्तललाई पछ्याएका हरि प्रसाईंले ११८ मत ल्याए ।

संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश शिवाकोटी १ हजार ३६२ मत ल्याउँदै विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी गंगाप्रसाद मैनालीले ६५४ मत ल्याए । उद्योग उपाध्यक्षमा १ हजार २३६ मत ल्याउँदै राजु न्यौपाने निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी कुलप्रसाद खरेलले ७७८ मत ल्याए ।

वाणिज्य उपाध्यक्षमा १ हजार ४५ मत ल्याउँदै नारायणप्रसाद चिमरिया विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी सार्दुलहाङ ओलीले ९३६ मत ल्याए । जनसम्पर्क उपाध्यक्षमा पार्वता खरेल बिमली १ हजार २६७ मत ल्याउँदै विजयी भइन् । उनकी निकटम प्रतिद्वन्द्वी दुर्गा खतिवडाले ७२० मत ल्याइन् ।

संघको महासचिवमा भेषराज भण्डारी (प्रशान्त) विजयी भए । उनले १ हजार १३० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी सुवास भट्टराईले ८७५ मत प्राप्त गरे । उद्योग सचिवमा १ हजार १६४ मत ल्याउँदै रविन्द्र भट्टराई विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी राजन थापाले ८२३ मत ल्याए ।

वाणिज्य सचिवमा १ हजार १६ मतका साथ प्रकाश घिमिरे विजयी भए । उनका प्रतिद्वन्द्वी घनश्याम मुन्नाले ९७१ मत पाए । कोषाध्यक्षमा १ हजार ९७ मत ल्याउँदै मनोज अग्रवाल विजयी भए । उनका प्रतिद्वन्द्वी पवन खेडिया अग्रवालले ८५८ मत प्राप्त गरे ।

त्यस्तै, संघको कार्यसमिति सदस्यमा खुला प्रतिस्पर्धाबाट खगेन्द्रप्रसाद खरेल, कुशल खतिवडा, राजकुमार घिमिरे राजु, गौरीशंकर गुप्ता टिंकु, सञ्जीव घिमिरे, राजकुमार साह, राजु सापकोटा विजयी भएका थिए । महिला सदस्यमा उर्मिला बिमली खरेल र राधिका चुडाल हुमागाईं निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer