२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

श्रीकृष्ण प्रणामीद्वारा ३२ करोड लागनीमा बृहत धार्मिक परियोजना सुरु


बिर्तामोड, चैत ३ । झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिकाको संगममा बृहत धार्मिक परियोजना सुरु गरिएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति बिर्तामोड इकाइले सद्गुरु श्री देवचन्द्र सदनसहित र मन्दिर निर्माणको बृहत परियोजना सुरु गरेको हो ।

निर्माणस्थलमा पत्रकार सम्मलेन गरेर आयोजकले परियोजनाबारे विस्तृत जानकारी गराएको छ । १० कठ्ठा ८ धुर जग्गामा परियोजना सम्पन्न हुनेछ । त्यसमध्ये ८ कठ्ठा ३ धुर परियोजनाको नाममा रजिस्ट्रेसन भई सकेको र २ कठ्ठा ५ धुर थप्न जग्गादाताबाटै प्रक्रिया अघि बढेको पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

परियोजना सम्पन्न गर्न २७ देखि ३२ करोड लाग्ने अनुमान गरिएको श्रीकृष्ण प्रणामी युवा परिषद झापा उपाध्यक्ष तथा प्ररियोजना निर्माण समितिका सचिव टहलदास ओलीले जानकारी दिए ।
विभिन्न स्थानमा मन्दिर, सदन, हस्पिटल, सहकारी, चौतारा, सार्वजनिक स्थानमा पिउने पानी, धार्मिक पुस्तकालय, धर्मशाला, वालआश्रम, बृद्धाश्रम, पाठशाला, पर्यटकीय स्थाल निर्माण गरिसकेको संस्थाले बिर्तामोड र अर्जुनधाराको सिमानामा बृहत निर्माणधिन परियोजना सञ्चालनमा ल्याउन लागेको हो ।

उक्त परियोजनाभित्र जिल्लाकै नमुनाका रुपमा एउटा सुन्दर प्रणामी मन्दिर, ५ तले अतिथि सदन, ६ हजार वर्गफिट भएको सभाहल, वाइजुराज नामक ४ तले भवन, सद्गुरु स्तम्भ, कलात्मक प्रवेशद्वार, धार्मिक झाँकीहरु, पार्किङस्थल साथै आवश्यकताअनुसार भवन निर्माण गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य तथा प्ररियोजना महासचिव शारदाप्रसाद थपलियाले बताए ।

त्यसैगरी, परियोजनामा स्वास्थ्य सेवा, योगध्यान शिविर, सभा सम्मेलन, गोष्ठी, विवाह, व्रतबन्ध वा वैधिक कर्महरु र सामाजिक सेवाका कार्यहरु सञ्चालन गरिने महासचिव थपलियाले जानकारी दिए । परियोजनाको प्रत्येक तलामा एक हल, ३ कोठा, भान्साघर, एक पकाउने कोठा निर्माण भइरहेको बताइएको छ ।

परियोजनालाई सफल बनाउन ९ वटा विभाग बनाई संयोजक तोकिसकिएको र कार्य सम्पन्न गर्न ३ देखि ५ वर्ष लाग्ने अनुमान गरिएको छ । हाल सेवा समितिबाट २१ लाख र सरकारी निकायबाट नदीको बाँधका लागि ३३ लाख प्राप्त भई कार्य गरिसकेको जनाइएको छ । निर्माणस्थल अदुवा खोलाको किनारमा रहेको छ ।

परियोजनामा श्रीकृष्ण प्रणामी सद्गुरु सदन इकाइ समिति, श्री बाइजुराज महिला समिति, श्री कृष्ण प्रणामी युवा परिषद, प्रारम्भिक समिति र भवन निर्माण समिति आवद्ध छन् । परियोजनाले व्यक्ति, संघ, संस्थाहरु र संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट प्राप्त अनुदान तथा सहयोगबाट आर्थिक स्रोत जुटाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

इकाइ समिति अध्यक्ष हरिप्रसाद कडरियाको अध्यक्षतामा भएको कार्यक्रममा श्रीकृष्ण प्रणमी सेवा समिति नेपालका उपाध्यक्ष पदमप्रसाद पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत भवन निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद बबजगाईंले गरेका थिए भने कार्यक्रममा बाइजुराज महिला समिति अध्यक्ष विनाकुमारी डाँगी, श्रीकृष्ण प्रणामी युवा परिषद प्रदेश १ का संयोजक अनिल ढुङ्गानालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer