
बिर्तामोड, जेठ ७ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भए पनि बाढीको जोखिम कायमै रहेको जनाएको छ ।

मनसुन अवधिमा कम वर्षा भई लामो समयसम्म खडेरी लाग्दा एक्कासी वर्षा भएर बाढी पहिरो आउने जोखिम कायमै रहेको विभागले जनाएको हो ।

विभागकी प्रवक्ता एवं मौसमविद् विभूति पोखरेलले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको जानकारी दिइन् । प्रवक्ता पोखरेलले मौसम पूर्वानुमानलाई थप प्रविधियुक्त बनाइएकाले बढि प्रभावकारी हुँदै गएको बताइन् ।

यस वर्षको मनसुनमा कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना धेरै रहेको विभागले जनाएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका उत्तरपूर्वी भूभाग, कर्णाली प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी भूभाग, कोसी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रमभन्दा बढी हुने सम्भावना रहेको समेत विभागले उल्लेख गरेको छ ।







