२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

संघको पद हस्तान्तरण आज, भट्टराई इतिहासकै सफल अध्यक्ष


बिर्तामोड, चैत ६ । बिर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण आज भव्य कार्यक्रमका बीच हुँदैछ । फागुन १६ गते सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा कार्यकारिणी सदस्यले आज पदभार ग्रहण गर्ने छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रमको तयारी पूरा भएको संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिए । संघको स्वामित्वमा रहेको अतिथि सदनमा पद हस्तान्तरण कार्यक्रम हुनेछ ।

यस्ता छन् भट्टराईको कार्यकालका केही कामहरु

झन्डै ४२ महिनासम्म संघको अध्यक्ष रहेका भट्टराईको कार्यकालमा ऐतिहासिक कामहरु भएका छन् । संघको इतिहासमै सबैभन्दा बढी रकम संकलन भएको थियो ।

त्यस्तै, केही पदाधिकारीको असहयोगका बाबजुद बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सफलतापूर्वक सम्पन्न भएको थियो । सो मेलाबाट संघले ३० लाख रुपैयाँभन्दा बढी रकम नाफा गरेको भट्टराईले बताए ।

जिल्ला शाखाको रुपमा रहेको संघलाई नगरस्तरीय हुँदै महासंघको सदस्यता दिलाउनेदेखि कर छुट प्राप्त पान नम्बर पनि भट्टराईकै कार्यकालमा भएको थियो । त्यस्तै, महिला सशक्तीकरण अभियानअन्तर्गत महिला व्यवसायीको हकहितका लागि विभिन्न प्रशिक्षण कार्यक्रमलाई प्राथमिकतामा राखिएको थियो ।

भट्टराईले आफ्नो कार्यकालमा कार्यालय भवनको माथिल्लो तला निर्माण मात्र गरेनन्, मेलाबाट आएको नाफाले अतिथि सदनको माथिल्लो तल्लाको पुनर्निर्माण गरेर आधुनिक एवम् भव्य हलको स्वरुप दिएका छन् । अतिथि सदनको भुइँ तल्लाको समेत पुनर्निर्माण गर्दै पूरै भवनको रङरोगन गरिएको छ ।

संघको ४० बर्से इतिहासमा पहिलोपटक बिर्तामोडमा महासंघको प्रदेशस्तरीय महाधिवेशन भट्टराईको कार्यकालमा सम्पन्न भएको थियो । आन्तरिक राजश्व कार्यालय, नगरपालिका तथा अन्य सामाजिक संघसंस्थाको सहकार्यमा कर शिक्षा, कर छुटलगायत विभिन्न व्यावसायिक हितमा कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

कोभिड १९ को समयमा अध्यक्ष भट्टराई एकका लागि एक अभियानमा जोडिएर निरन्तर सेवामा लागेका थिए । विपन्नलाई खाद्यान्नदेखि लता कपडा वितरणमा भट्टराईको अगुवाईमा दर्जनौँ कामहरु भएका थिए ।

त्यस्तै, व्यापार क्षेत्रमा रहेका श्रमिकहरुको हकहितका लागि युनिकम नेपालसँग संघले ऐतिहासिक सम्झौता गरेको छ । इतिहासमै मजदुर र मालिकबीचमा तथा व्यवसायी र श्रमिकको बीचमा हुने विवाद तथा समस्यालाई यो सम्झौताले निकास दिने मार्गप्रशस्त गर्दछ ।

भट्टराईको कार्यकालको अन्तिम तथा महत्वपूर्ण काम भनेको अतिथि सदनमा सिसी क्यामेरा जडान गरिएको छ । बिर्तामोड आसपास र अन्य व्यापारिक प्रतिष्ठानमा सिसी क्यामेरा जडान गरिए पनि संघको आफ्नै कार्यालयमा भने जाडिएको थिएन । तर, भट्टराईको विशेष चासोमा उनले आफू संघबाट बाहिरिँदै गर्दा सिसी क्यामेरा जडान गरेर सुरक्षा व्यवस्थालाई मजबुद बनाइदिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer