२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

ब्रिकेट उद्योगको आगलागी अझै नियन्त्रणबाहिर


बिर्तामोड, बैशाख २० । सोमबार बिहान ३ बजेदेखि झापा मेचीनगर १५ ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आइसकेको छैन ।

आगो निभाउन मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमक गरी झापाका पाँच तथा उर्लाबारी र कानेपोखरीको गरी ७ वटा दमकल परिचालन गरिएका छन् । त्यस्तै, स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणको प्रयास जारी रहे पनि अझै निभाउन नसकिएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक विकास राईले बताए ।

उनले प्रज्वलनशील वस्तु भएकाले सजिलै निभाउन नसकिरहेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले ७ वटा दमकलसँगै स्थानीयको सहयोगसहित ठुलो संख्यामा प्रहरी परिचालन गर्दा पनि आगो पूर्ण रुपमा निभाउन नसकिएको बताए ।

उनले आगो नियन्त्रणमा लिन यति नै समय लाग्ने भनेर यकिन गर्न नसकिने जानकारी दिए । बिर्तामोड नगरपालिकाका दमकल इन्चार्ज चन्द्रबहादुर पौडेलले आफूहरु बिहानैदेखि लगातार खटिरहे पनि आगो निभाउन नसकिरहेको बताए ।
कुनै दमकलले बाहिरबाट र कुनै दमकलले भित्रपट्टिको आगो निभाउने प्रयास गरिरहेको उनले जानकारी दिए ।

उद्योगमा लागेको भीषण आगलागीबाट करोडौँको क्षति भएको छ । निलकोठी भन्ने ठाउँमा रहेको ब्रिकेट उद्योगमा लागेको आगोबाट १० देखि १२ करोड रुपैयाँसम्म क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट एउटा पूरै युनिट जलेर नष्ट भएको छ । आगलागीबाट उद्योग, त्यहाँ रहेको मेसिन, ट्रयाक्टर, एक्जाभेटर, कच्चा पदार्थ, तयारी कोइलालगायतका वस्तु जलेर नष्ट भएको सञ्चालक आदित्य पराजुलीले बताए ।

आगलागीबाट ब्रिकेट बनाउन स्टक राखिएको ५० लाख केजी कच्चा पदार्थ जलेर नष्ट भएको उनले जानकारी दिए । उद्योगी चण्डी पराजुली र उनका छोरा आदित्य पराजुलीले सञ्चालन गरेको सो उद्योगमा विद्युत सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ । डेढ बिघा क्षेत्रफलमा फैलिएको उद्योग करिब तीन वर्षअघि स्थापना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer