२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अक्सिजन बैंकका लागि रोटरी बिर्तामोड मिडटाउनद्वारा १५ लाख सहयोग


हालसम्म जुट्यो ९०० सिलिन्डरको रकम

बिर्तामोड, जेठ १२ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले एकका लागि एक अभियानलाई १५ लाख १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत क्लबले १५ लाख १५ हजार रुपैयाँ प्रदान गरेको हो ।

आज बुधबार अभियानको सचिवालय सहारा नेपाल साकोसको मुख्य कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच क्लबका अध्यक्ष प्रशान्त भण्डारी (भेषराज) नेतृत्वको रोटरी टोलीले अभियानलाई चेक हस्तान्तरण गर्यो ।

अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीले चेक ग्रहण गर्दै रोटरी बिर्तामोड मिडटाउनलाई धन्यवाद दिँदै क्लबको प्रशंसा गरे । क्लबले १०१ थान सिलिन्डरबापतको रकम सहयोग गरेको हो ।

क्लबलाई ललितपुरको हिमालयन डिस्टिलरी प्रालिले १२ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो । क्लबले यसअघि नै अक्सिजन बैंक स्थापनाको उद्देश्यले हिमालयन लगायत कम्पनीसँग सहयोगका लागि अनुरोध गरेको थियो ।

त्यस्तै, नेपाली सेनाका कर्णेल मुक्स याक्थुम्बाबाट ८ थान सिलिन्डरबापतको १ लाख २० हजार रुपैयाँ प्राप्त भएको क्लबले जनाएको छ । बाँकी १० वटाबापतको रकम क्लबका पदाधिकारी तथा सदस्यबाट सहयोग जुटेको हो ।

चेक हस्तान्तण कार्यक्रममा क्लबका सदस्य तथा उद्योगी उमेश डालमिया, चार्टर प्रेसिडेन्ड सन्तोष अग्रवाल, सेक्रेटरी सिद्धार्थ नवीन उप्रेती, डाइरेक्टर गजेन्द्रबहादुर पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा डिस्टिलरीका प्रतिनिधि तथा डिस्टिब्युटर कुमार थापाले कम्पनी सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रोटरीमार्फत अभियानलाई सहयोग गरिएको बताए ।

अभियानलाई अक्सिजन सिलिन्डरबापत सहयोग गर्ने रोटरी क्लब अफ बिर्तामोड मिडटाउन सबैभन्दा ठुलो संस्था भएको छ । यसअघि सहारा नेपाल र अन्तर्राष्ट्रिय झापाली समाजले एकएक सय थान अक्सिजन सिलिन्डर प्रदान गरेका छन् ।

अभियानलाई आजसम्म व्यक्तिगत तथा संस्थागत रुपमा ६ सयवटा भन्दा बढी अक्सिजन सिलिन्डरबापतको रकम देश तथा विदेशबाट हस्तान्तरण भइसकेको छ । हालसम्म ९ सयभन्दा सिलिन्डरबापतको रकम संकलन भइसकेको सचिवालयले जनाएको छ ।

झापामा पनि अक्सिजन सिलिन्डर अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गरेको हो ।

अभियानले चीनबाट ल्याउने भनेको ५ सय थान अक्सिजन सिलिन्डरमध्ये पहिलो चरणमा १२० थान सिलिन्डर झापा आइपुगिसकेको छ । अभियानलले सिलिन्डर अभाव भएका अस्पताललाई वितरण पनि सुरु गरिसकेको छ ।

पहिलो चरणमा आएको अक्सिजन सिलिन्डर जिल्ला प्रशासन कार्यालय झापामार्फत आवश्यकता अनुसार अस्पतालहरुलाई दिइएको हो । त्यस्तै, अस्पतालपछि होम आइसुलेसनमा बसेका अक्सिजन आवश्यक परेका कोरोना संक्रमितलाई पनि प्राथमिकताका आधारमा सिलिन्डर दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer