२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

सडकमा आश्रित मानिसको सहारा बन्दै अर्जुनधाराका युवा


बिर्तामोड, जेठ १७ । सरकारले लागु गरेको पूर्ण निषेधाज्ञाको समयमा झापा अर्जुनधाराका केही युवाको दैनिकी अन्यको भन्दा फरक छ । सुरुवाती एक साता घरमै एकान्तबासमा रहेका उनीहरु पछिल्लो १९ दिनयता सडकमा छन् ।

केही सामाजिक संस्थाले ज्याला गुमाएका र विपन्न परिवारलाई खाद्यान्न तथा राहत वितरण गर्दैछन् । तर, सडकमै बसेर साँझबिहान पेट भर्ने फकिरहरुका निम्ति कसैको ध्यानदृष्टि पुगेन । अर्जुनधारा–५ का कौशल कान्छो, ध्रुव गौतम लगायत युवाकोे मन कुँडियो । मनमनै जुक्ति फुराए, ‘सडकलाई संसार सम्झेर बसेका यी बेसहाराका लागि हामी सहारा बन्नु पर्छ ।’

बैशाख २९ गतेदेखि आफ्ना मोटरसाइकलको लेगगार्डमा तयारी खानाका बट्टा र पानीका बोत्तल झुन्ड्याएर उनीहरु बिर्तामोड, शनिश्चरे, चारपाने, बुट्टाबारी, चारआली, धुलाबारी, काँकरभिट्टा र सुरुङ्गा कोटिहोमको चक्कर लगाइरहेका छन् । सडकमै गुजारा चलाउने ‘माग्ने’ हरुका हातमा तातो खाना राखिदिन्छन् ।

सुरुका दिनहरुमा उनीहरु बस्ने ठाउँ यकिन गर्न असहाय नागरिक सेवा समूहमा आवद्ध उनीहरुलाई कठिन भयो । अहिले उनीहरु बस्ने गल्ली र सडककिनारबारे कौशल र ध्रुव जानकार भइसकेका छन् । सरकारले बनाएको नियममै बसेर उनीहरु ती वास्तविक असहायलाई बिहान एक छाक खाना खुवाएर दुई घण्टामा घर फर्किन्छन् ।

दैनिक ३० जनाको खानाको प्याकेट बनाउन उनीहरुलाई घरका सदस्यले सहयोग गर्छन् । अधिकांश बोल्न नसक्ने सडक मानिसहरु आजभोलि उनीसँग आत्मीय बनिसकेका छन् । उनीहरुले परैबाट चिन्न थालेका छन् । मोटरसाइकल रोक्नेबित्तिकै छेउमा आउँछन् र तातो खानाको प्याकेटका लागि हात थाप्छन् । उनीहरुको अनुहारको चमक देख्दा समूहका युवा दंग छन् ।

कौशल र ध्रुवसहित दैनिक छजना युवा मोटरसाइकलमा तयारी खानाका प्याकेट लिएर निस्किन्छन् । उनीहरुलाई लक्ष्मी बराल, त्रिलोचन गौतम, जीवन डाँगी, पण्डित कुवेर सुवेदी लगायतले सहयोग गर्दै आएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer