२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एन्फामा ‘अर्ली’ चुनावको माग, प्रशिक्षकले मागे माफी


बिर्तामोड, साउन १८ । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ताबाट राजीनामा दिएका केन्द्रीय सदस्य किरण राईले संघको ‘अर्ली’ चुनावको माग गरेका छन् ।

सोमबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका प्रवक्ताले वर्तमान फुटबलको समाधान चुनावबाट मात्र निस्कने दाबी गरे ।

‘एन्फा विवादको समाधान हाम्रो हातमा छैन । एन्फाभित्र जुन शक्ति संघर्ष चलेको छ, यसको समाधान देखिँदैन’, उनले भने, ‘चाँडो जिल्ला र प्रदेश अधिवेशन सकेर ६–७ महिनाभित्र नयाँ चुनाव गर्नुपर्छ ।’

राईले फुटबलमा पछिल्लो समय जालझेल र षड्यन्त्र उत्कर्षमा पुगेको बताउँदै फुटबल विकासका लागि सबै जना रोकिनुपर्ने अवस्था आएको उल्लेख गरे । राईले एन्फाभित्र अध्यक्ष र वरिष्ठ उपाध्यक्षको विवादले फुटबललाई राम्रो नगर्ने बताए ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा प्रकरण र प्रशिक्षकले वरिष्ठ उपाध्यमाथि लगाएको आरोपले फुटबल विवाद उत्कर्षमा पुगेको छ । प्रवक्ताको हैसियतामा राईले संस्थागत धारणा राख्दै आएका थिए ।

आइतबारको पत्रकार सम्मेलनमा उनले पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयमा आपत्ति जनाए । फुटबलभित्रको विवाद एन्फाभित्रै समाधान खोजिनुपर्नेमा युवा तथा खेलकुद मन्त्रालयलाई छानविनका लागि सिफारिस गर्ने एन्फाको निर्णय उनले खराब रहेको बताए ।

एन्फा कार्यसमिति बैठकमा उनले संघभित्र समस्याको समाधान खोजिनुपर्ने धारणा राखेका थिए । एन्फा विवादमा मन्त्रालयलाई घुसाउन नहुने उनको तर्क थियो । तर, अध्यक्ष शेर्पाले आफू समेत मुछिएको विषयमा उच्चस्तरीय छानबिन गर्नुपर्ने भन्दै मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गराएका थिए ।

उनले जिम्मेवारीमा बसेर स्वतन्त्रपूर्वक धारणा राख्न नसकिने भएकाले आफू बाहिर आएको प्रस्टोक्ति दिए । राईले फुटबल भित्रको राजनीतिक अन्तरसंघर्षले फुटबललाई असर गर्न नहुने धारणा राखे ।

उनले प्रशिक्षकको राजीनामा प्रकरणमा वरिष्ठ उपाध्यक्षमाथि बढी नै अन्याय भएको बताए । प्रवक्ताको जिम्मेवारीबाट बाहिर रहे पनि उनले फुटबलमा मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने धारणा राखे ।

प्रवक्ता राईले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गर्ने तयारी गरेका थिए । तर, बिहानै अध्यक्षसँग भेटेपछि उनी ब्याक पनि भएका थिए । तर, पुनः सोमबार बिहानै उनी राजीनामा दिने निर्णयमा पुगे ।

राईले अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलबाट एन्फाको केन्द्रीय सदस्य जितेका थिए । शेर्पाले उनलाई एन्फा प्रवक्तामा नियुक्त गरेका थिए । एन्फाभित्रको राजनीतिमा राई वरिष्ठ उपाध्यक्ष निकट मानिन्छन् । तर, उनले अध्यक्ष र वरिष्ठ उपाध्यक्षसँग समदूरी राख्दै काम गर्दै आएका थिए ।

तर, प्रशिक्षकको राजीनामा प्रकरणसँगै एन्फाभित्र कित्ताकाटको अवस्था सिर्जना भएको छ । सोही प्रकरणमा असन्तुष्ट रहँदै आएका राईले अन्ततः प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

प्रशिक्षकले मागे माफी

यसैबीच, नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकबाट एक अनलाइन मिडियालाई दिएको अन्तर्वार्ताको विषयमा माफी मागेका हुन् ।

अलमुताइरीले एक अनलाइनसँगको अन्तर्वार्तामा पहिले नेपाली फुटबल खेलाडीहरु नतिजाका लागि भन्दा पनि नयाँ देश हेर्न र घुम्न मात्र जाने गरेको र आफ्नो आगमनपछि राम्रो नतिजा आएको बताएका थिए । उनको त्यस अभिव्यक्ति पछिल्लो समय विवादमा आएको थियो ।

नेपालका पूर्वखेलाडी र फुटबल समर्थकहरुले उनको अभिव्यक्तिमा विरोध जनाएका थिए । प्रशिक्षक अलमुताइरीले आफ्नो भनाइको गलत अर्थ लागेको महसुस भएको बताउँदै माफी मागेका छन् ।

पछिल्लो समय अलमुताइरी एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङसँगको विवादमा समेत तानिएका छन् । प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट नेम्वाङको कारण आफूले राजीनामा दिने बताएका थिए ।

एन्फा विवाद राखेपले छानबिन गर्ने

युवा तथा खेलकुद मन्त्रालयले फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवाद छानबिनका लागि मन्त्रालयलाई आग्रह गरेको थियो ।

युवा तथा खेलकुद मन्त्रालयले फुटबलमा देखिएको विवाद र गुनासो छानबिन गरी समस्या समाधानको उपायसहित प्रतिवेदन पेस गर्न राखेपलाई निर्देशन दिएको छ ।

मन्त्रालयका सचिव केदार न्यौपानेले फुटबलमा देखिएको विवाद छानबिन गरी समाधानको उपायसहित प्रतिवेदन पेस गर्न राखेपलाई निर्देशन दिएका हुन् ।

नयाँ सरकार गठन भएलगत्तै युवा तथा खेलकुद मन्त्रालयले मन्त्रीविहीन छ । मन्त्रालयको कार्यकारी जिम्मेवारीमा रहेका सचिव न्यौपानेले फुटबल विवाद छानबिनका लागि राखेपलाई जिम्मेवारी दिएको हुन् । -खेलपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer