२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

संखुवासभा घटना: आफन्तले हत्या गरेको पुष्टि


बिर्तामोड, भदौ २६ । संखुवासभामा ६ जनाको विभत्स हत्या भएको पाँच दिनपछि प्रहरीले हत्या अभियोगमा एकजनालाई पक्रेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सङ्घीय इकाई प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको अनुसन्धान टोलीले पाँच दिनको अनुसन्धान पछि २६ वर्षीय लोकबहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो। प्रहरीको दाबी अनुसार घटनामा प्रयोग भएको रगत लागेको हतियार र अभियुक्तले लगाएको कपडा समेत बरामद गरिएको छ।

गत सोमवार मादी नगरपालिका १ उम्लिङ खोलागाउँमा ६ फरक फरक स्थानमा एकै परिवारका ६ जनाको शव भेटिएका थियो। दुई नाबालक सहित सबैको हत्या गरिएको थियो। प्रहरीले नियन्त्रणमा लिएका युवकले रिसइबीका कारण हत्या गरेको बयान दिएको प्रहरीको दावी छ। प्रहरीले नियन्त्रणमा लिएका युवक मृतक परिवारका १३ दिने नाता पर्ने एकै खलकका हुन्। हत्या गरिएका तेजबहादुरका नातामा उनी भतिजा पर्छन्।

प्रहरीका अनुसार पक्राउ परेका छिमेकी नै हुन्। बिहान करिब साढे ५ बजेतिर घटना भएको देखिएको छ। सुरुमा उनले तेजबहादुरको हत्या गरेको त्यसपछि अन्य सदस्यहरूको हत्या गरेको बयान दिएको प्रहरीको दावी छ।

घरभित्र, बाटोमा, बारी र खोल्सामा गरी सोमवार विभिन्न ४ ठाउँमा ६ वटा शव फेला परेको थियो। ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको हत्या भएको हो।

हत्या भएका कार्की परिवारले आफूलाई हेप्दै आएको र मनमा त्यसको तुस रहिरहेकाले सोही दिन हत्या गरेको प्रहरीलाई उनले बयान दिएको प्रहरीको भनाइ छ। केही दिन अघि अभियुक्तले तेजबहादुर कार्कीकी बुहारीलाई रातिको समयमा फोन गरेका थिए। सो कुराको जानकारी रञ्जनाले आफ्ना ससुरालाई दिएकी थिइन्। त्यसपछि तेजबहादुरले लोकबहादुरलाई हप्काएका थिए।

‘मलाई हप्काउने उसका छोरा विदेशमा भएर पैसा कमायो भनेर हेप्ने गरेको थियो। त्यसैको रिस थियो,’ लोकबहादुरको बयानलाई उद्धृत गर्दै एक प्रहरीले अधिकृतले सुनाए।

प्रहरीले सुरुमा यो घटना आर्थिक पाटोसँग जोडेर अनुसन्धान गरेको थियो। तर, कार्की परिवारको घर भित्र हरेको नगद र अन्य गरगहना सकुशल भएकाले नयाँ शिराबाट अनुसन्धान थालेको थियो। घरभित्र कुनै पनि छेडछाड नगरेको, अन्य आधुनिक हतियार प्रयोग नगएको र परिवारका एक जना बाहेक बसै सदस्यको हत्या गरिएको हुनाले कुनै चिने जानेको व्यक्तिबाट नै हत्या भएको हुनसक्ने आशङ्कामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

‘हत्या भएपछि अनुसन्धानले शंका गर्ने आधार दिएपछि लागेपछि उसलाई सर्भिलेन्समा राखेका थियौं। थप प्रमाण पुगेपछि नियन्त्रणमा लिएका हौं,’ जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले भने।

एक वर्षअघिको जेठमा उनकी आमाको लडेर मृत्यु भएको थियो। आमाको मृत्युमा उनले कार्की परिवारमाथि शंका गरेका थिए। जसले गर्दा पनि कार्की परिवारप्रति रिसइबी बढेको देखिन्छ।

प्रहरीले लोकबहादुरमाथि अनुसन्धान गर्दै जाँदा शङ्कास्पद गतिविधि देखिएको थियो। उनले आफूले लास देखेको भन्दै कुनै व्यक्तिलाई जानकारी दिएका थिए। तर, उनले जुन ठाउँबाट शव देखेको भनेका थिए त्यस स्थानबाट सहजै लास देखिने अवस्था थिएन। त्यसपछि प्रहरीको आशङ्का थप बलियो बनेको थियो।

‘हामीलाई उसले जहाँबाट लास देखेको भने त्यहाँबाट हेर्दा लास देखिँदैन थियो। त्यसरी नै आशङ्काहरूलाई टेकेर अनुसन्धान गर्दै गयौं,’ एक प्रहरी अधिकृतले भने। प्रहरीले भोलि बिहान पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गर्ने भएको छ।

-पहिलोपोस्टबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer