२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

एनएमसीको नाफा २७ करोड ४० लाख रुपैयाँ


बिर्तामोड, भदौ २९ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको २०७८ साल असार मसान्तसम्मको सेयर पुँजी एक अर्ब ११ करोड ६० लाख ६ हजार २०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, निक्षेप आठ अर्ब ८५ करोड ४२ लाख २३ हजार ४०३ रुपैयाँ, कर्जा लगानी नौ अर्ब २४ करोड ६ लाख ४० हजार ९९४ रुपैयाँ, जगेडा कोषमा ६८ करोड र करअघिको नाफा २७ करोड ४० लाख ६९ हजार ५४८ रुपैयाँ रहेको छ ।

संस्थाको २९ औँ वार्षिक साधारणसभाको लागि वितरण गरिने वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । पत्रकार सम्मेलन गर्दै बिर्तामोडमा प्रतिवदन सार्वजनिक गरिएको हो ।

एनएमसी झापाका अध्यक्ष रामचन्द्र उप्रेती, सञ्चालक समिति सदस्य डम्बरबहादुर बस्नेत, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीलगायतले संस्थाको नीति तथा कार्यक्रमसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष उप्रेतीले आगामी असोज ९ गते वार्षिक साधारणसभा अन्तर्गत माइन्युट प्रमाणित सभाको रुपमा मेचीनगर–१४, दुहागढीस्थित एनएमसी एकीकृत नमुना कृषि फर्ममा गरिने जानकारी दिए ।

वार्षिक साधारणसभाको कार्यसूचीबारे जानकारी दिँदै अध्यक्ष उप्रेतीले भने, ‘संस्थाका ४५ वटा बैंकिङ कार्यालयलाई इकाइ मानेर सेयर सदस्यहरुलाई आमन्त्रण गरी आगामी असोज ३ गतेदेखि ८ गतेसम्म छलफल गर्ने, उनीहरुबाट सुझाव संकलन गरिने तथा माइन्युट प्रमाणित गर्न तीनतीन जनाका दरले प्रतिनिधि छनोट गरी असोज ९ गते साधारणसभा सम्पन्न गरिनेछ ।’

सार्वजनिक प्रतिवेदनमा संस्थाले यस वर्ष मोरङ र इलाममा कार्यक्षेत्र थप गरेको तथा २०७८ असार मसान्तमा एक लाख पाँच हजारभन्दा बढी सदस्यहरु रहेको उल्लेख छ ।

असल संस्कार र समृद्धिका लागि एनएमसी भन्ने नाराका साथ सञ्चालित संस्थाले बैंकिङ, डेरी, एकीकृत नमुना कृषि फार्म, सहकारी पसल, चिया उद्योग गरी पाँचवटा उद्यम सञ्चालन गरेको छ । एनएमसीले एग्रो सपोर्ट बिजनेस, प्याकेजिङ उद्योग, चामल मिल, तोरीको तेल मिल जस्ता उद्योगहरु सञ्चालन गर्ने योजना बनाएर अध्ययन गरिरहेको उप्रेतीले जानकारी दिए ।

एनएमसीले समीक्षा वर्षमा ४४३ जनालाई मृत्यु राहत, ६५ जना दीर्घ रोगीलाई उपचार राहत, १८ जनालाई घाइते उपचार राहत, १५ जनालाई प्राकृतिक प्रकोप राहत, ६३ जना कोभिड संक्रमित कर्मचारीलाई राहत दिएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, एनएमसीले बजार प्रतिनिधिहरुलाई कर्मचारीमा रुपान्तरण, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागिता, संरक्षित पुँजी फिर्ता कोष वितरण लगायतका कार्यक्रम अघि सारेको छ ।

साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदनमा १२ प्रतिशत सेयर बोनस वितरण गर्ने, कर्मचारीको तलब १० देखि १५ प्रशित बढाउने, सहकारी पसलको वेयरहाउस निर्माणका लागि जमिन खरिद गर्ने आदि प्रस्तावहरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer