२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सहारा नेपालद्वारा सामाजिक सुरक्षा भत्ताबापत एक करोड रुपैयाँ वितरण


बिर्तामोड, असोज २४ । कारोबार र शेयर सदस्यका हिसाबले नेपालकै सबैभन्दा ठुलो सहकारी झापा बिर्तामोडको सहारा नेपाल साकोसले सामाजिक सुरक्षा भत्ता शीर्षकमा एक करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको छ ।

आज चारपानेमा बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रयको आयोजना गरी संस्थाका ९३५ जना सदस्यलाई एक करोड सात लाख ४९ हजार रुपैयाँ वितरण गरेको हो । रकम विभिन्न सेवा केन्द्रमार्फत प्रदान गरिने संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले विभिन्न छवटा शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिए । गिरीका अनुसार एकल महिला भत्ताबापत आठ हजार रुपैयाँका दर ५९२ जनालाई ४७ लाख ३६ हजार र ५८ वर्ष पूरा गरेका १२ जना एकल पुरुषलाई छ हजारका दरले ७२ हजार रुपैयाँ वितरण गरिएको छ ।

त्यस्तै, २४२ जना ज्येष्ठ सदस्यलाई १६ लाख ७६ हजार रुपैयाँ प्रदान गरिएको छ । ७० वर्षसम्मका ज्येष्ठ सदस्यलाई आठ हजार, ७१ वर्षदेखि ८५ वर्षसम्मका ज्येष्ठ सदस्यलाई १० हजार रुपैयाँका दर भत्ता प्रदान गरिएको गिरीले बताए । ज्येष्ठ सदस्यहरुको दीर्घायुको कामना गर्दै ८६ वर्षदखि ९९ वर्षसम्मका सदस्यलाई २५ हजार रुपैयाँ वितरण गरिएको छ ।

हौसला कार्यक्रमअन्तर्गत पूर्णरुपमा अशक्त र अपांगता भएका नौजना सदस्यलाई १० हजार रुपैयाँका दरले ९० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै, दिवंगत भएका सदस्य तथा कर्मचारीको सम्झनामा हरेक दुईदुई वर्षमा आश्रित परिवारलाई २५ हजारका दरले पाँचपटकसम्म रकम उपलब्ध गराइने संस्थाले जनाएको छ । सोअन्तर्गत ६३ जनालाई १५ लाख ७५ हजार रुपैयाँ वितरण गरिएको छ ।

त्यस्तै, परिवार राहत कार्यक्रमअन्तर्गत ७५ वर्ष पुगेपछि स्वयम सदस्यलाई नै तथा निधन भएमा परिवारका सदस्यलाई जीवनयापनमा सहजताका लागि एक लाखदेखि पाँच लाख रुपैयाँसम्म वितरण गरिएको छ । सोअन्तर्गत १७ जनालाई २६ लाख रुपैयाँ प्रदान गरिएको गिरीले जानकारी दिए ।

कार्यक्रममा संस्थाका पूर्वकर्मचारी स्वर्गीय यादव बस्नेतको स्मृतिमा स्वर्गीय यादव बस्नेत सहारा अक्षयकोष घोषणा गरिएको थियो । अक्षयकोषको राशि १० लाख रुपैयाँ रहेको छ । त्यस्तै, एकल महिला रेणुका नेपाललाई विशेष सम्मान गरिएको थियो ।

संस्थाका कार्यवहाक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बचत तथा ऋण सहकारी संघ १ नम्बर प्रदेश अध्यक्ष घनश्याम अधिकारी, संरक्षक नरनाथ गिरीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

दिनेशबहादुर निरौलाले सञ्चालन गरेको कार्यक्रममा सामाजिक सुरक्षा उपसमिति संयोजक डिल्लीराम सिटौलाले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer