२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सहयोगी हातहरुले २० लाख खर्चमा राजु चौधरीको घर बनाउने


बिर्तामोड, असोज २४ । ए प्लास्टिक एनिमियाबाट ग्रसित भई निधन भएका बिर्तामोडका राजु चौधरीको परिवारलाई सहयोगी हातहरुले घर निर्माण गरिदिने भएका छन् ।

स्थानीय रेडियम ब्यान्डका गायक तथा गितारिस्ट राजु चौधरीको गत भदौ २५ गते उपचारका क्रममा भारतको दिल्लीमा निधन भएको थियो । करिब २ महिनाजति नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराइएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो ।

उनको उपचारका लागि देशविदेशमा रहेका शुभेच्छुकहरुले आर्थिक सहयोग गरेका थिए । बिर्तामोडका युवाहरुले ‘फर राजु चौधरी’ अभियान सञ्चालन गरी उनको उपचारका लागि आर्थिक सहयोग जुटाएका थिए । तर, उपचारकै क्रममा राजु चौधरीको निधन भएपछि अभियान रोकिएको थियो ।

राजुको उपचारसहित विविध खर्च गरी करिब २० लाख रुपैयाँजति खर्च भएको अभियानका सदस्य विशाल अग्रवालले जानकारी दिए । उनका अनुसार उपचारका लागि संकलित झन्डै ७० लाखमध्ये राजुको परिवारका लागि २० लाख मूल्यबराबरको चार कोठे घर निर्माण गर्न लागिएको छ ।

जसका लागि स्थानीय लक्ष्मीमाया सुनारको संयोजकमा ५ सदस्यीय घर निर्माण समिति गठन गरिएको छ । जसमा विशाल अग्रवाल, देविका कार्की, संगीता गिरी र सुधामाया थापा सदस्य छन् । यसैगरी, बिर्तामोड ५ की वडा सदस्य तथा कार्यपालिका सदस्य भगिरथा आचार्य घिमिरेको संयोजकत्वमा प्रकाश लिङदेन, विकास गिरी र वडा सचिव विमल पोखरेल सदस्य रहने गरी अनुगमन समिति बनाइएको छ ।

अभियानका सदस्य अग्रवालका अनुसार स्वर्गीय राजुका दाजुको पनि भर्खरै निधन भएकाले उनको काजकिरियाका लागि एक लाख रुपैयाँ प्रदान गरिएको छ । यसैगरी, राजुका दुई साना भाइहरुको नाममा चार लाख रुपैयाँ बैंकमा जम्मा गरिने भएको छ ।

फर राजु चौधरी अभियानले संकलन गरेको रकममध्ये बचत २५ लाख रुपैयाँ सुरक्षित राखिएको छ । उक्त रकम क्यान्सरपीडितको उपचारमा सहयोगका लागि खर्च गरिने मुख्य अभियन्ताद्वय कलाकार स्वप्निल शर्मा र निरन शाहीले बताएका छन् । यस अभियानको संरक्षकका रूपमा शर्मा, शाहीसहित बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङदेन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer