२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

२८ वर्षपछि भारतविरुद्ध फाइनल खेल्दै नेपाल


बिर्तामोड, असोज २८ । नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोली बीच २८ वर्षपछि फाइनल खेल तय भएको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा बुधबार नेपाल र भारतले आफू अनुकुल नतिजा निकाल्दै असोज ३० गते हुने फाइनल भिडन्त पक्का गरेका छन् ।

नेपालले बंगलादेशसँग १–१ बराबरी खेल्दै फाइनल यात्रा तय गरेको थियो । अर्कोतर्फ च्याम्पिनयसिपमा अपराजित भएको भारतले आयोजक माल्दिभ्सलाई ३–१ को नतिजा निकाल्दै अन्तिम दुईको यात्रा तय गरेको थियो । भारत सातपटकको च्याम्पियन टोली हो । साफ च्याम्पियनसिपमा भने नेपाल पहिलोपटक फाइनल पुगेको हो ।

साफ च्याम्पिनसिपमा पहिलोपटक फाइनल पुगे पनि नेपालले यसअघि अर्को फाइनल खेलेको थियो । अहिले दक्षिण एसियाली खेलकुद (साग) का नामले परिचित तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को छैटौँ संस्करणमा नेपाल र भारतले फाइनल खेलेका थिए ।

सन् १९९३ मा बंगलादेशमा भएको छैटौँ सागमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपाल टाइब्रेकरमा ४–३ ले विजयी भएको थियो । २–२ को बराबरीपछि टाइब्रेकरमा नेपालले बाजी पारेको थियो ।

त्यसयता नेपाली राष्ट्रिय सिनियर टोलीले दक्षिण एसियाको क्षेत्रीयस्तरको प्रतियोगिता जितेको छैन । सागमा पहिला सिनियर टोलीले नै खेल्ने गथ्र्यो । नवौँ सागदेखि भने यु २३ टोलीले साग खेल्दै आएको छ । सागको १२ औँ संस्करणमा नेपालले भारतलाई हराएर नै उपाधि जितेको थियो ।

महिलातर्फ पनि साग र साफ च्याम्पियनसिपका अधिकांश संस्करणमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै आएको छ । त्यसमा भने नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन ।

दक्षिण एसियाको पावर हाउस भारतविरुद्ध नेपालले पछिल्लो झन्डै डेढ महिनामा चौथोपटक खेल्ने तय भएको छ । भदौको १७ र २० गते दशरथ रंगशालामा यी दुई टोलीबीच मैत्रीपूर्ण खेल भएको थियो । जसमा पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो भने दोस्रो खेलमा भारत २–१ ले विजयी भएको थियो ।

असोज २४ गते भएको पछिल्लो भेटमा भारत १–० ले विजयी भएको थियो । २ जित र २ बराबरीका साथ भारत ८ अंकसहित शीर्ष र ७ अंकसहित नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेका छन् ।

छैटौँ सागमा टाइब्रेकरमा हराएपछि नेपालले २०१३ मा स्वदेशमा आयोजना भएको साफ च्याम्पियनसिपमा भारतलाई २–१ ले हराएको थियो । नेपालले नियमित समयमा भारतलाई हराएको त्यो नै पहिलो खेल हो । त्यसयता नेपालले भारतलाई हराउन सकेको छैन । भारतमाथि जित निकाल्दै पहिलो उपाधि जित्ने मौका यसपटक नेपालसँग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer