
बिर्तामोड, कात्तिक २५ । यही कात्तिक २९ गतेबाट सुरु हुने भनिएको सहिद स्मारक ए डिभिजन लिग मंसिर ३ बाट सुरु हुने भएको छ ।

सप्ताहको अन्तिम तीन दिन लिगका खेल गर्ने भएपछि मिति केही दिन सरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । महासचिव इन्द्रमान तुलाधरका अनुसार क्लबहरुकै सल्लाहमा साताको अन्त्यमा मात्र खेल खेलाउने सहमति भएको हो । अब लिगका खेलहरु शुक्रबार, शनिबार र आईतबार मात्र खेलिने एन्फाले जनाएको छ ।

खेल तालिकामा अब मिति मात्र परिवर्तन हुनेछ । एन्फाले यसअघि नै तालिका निर्धारण गरिसकेको छ । एन्फाले बिहीबार नै कान्तिपुर टेलिभिजनसँग प्रत्यक्ष प्रसारणका लागि सम्झौता पनि गरेको छ । कान्तिपुरले एक वर्षका लागि सम्झौता गर्दै लिगअन्तर्गत खेलहरू प्रत्यक्ष प्रसारण गर्नेछ ।

उद्घाटन खेलमा सातदोबाटो युथ र फ्रेन्ड्स भिड्ने छन् । अघिल्लो लिग मछिन्द्र क्लबले जितेको थियो ।






