२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एक अर्ब लगानीमा बन्दै ‘ह्याप्पी ड्रिम्स चेप्टी’


बिर्तामोड, पुस १९ । खण्डहर बगरलाई सौन्दर्य भरेर कसरी रमणीय स्थान बनाउन सकिन्छ भन्ने उदाहरण हेर्न दक्षिणी इलामको चेप्टी पुग्दा हुन्छ । दृढ आत्मविश्वास र इच्छाशक्ति भएका झापा सुरुङ्गाका युवा दिनेश शिवाकोटीको यो ‘बिग प्रोजेक्ट’ निर्माण चरणमै हेर्दै लोभलाग्दो छ ।

माई नगरपालिकाको माईखोलाकै किनार र चुरेको फेदीमा शिवाकोटीले ‘ह्याप्पी ड्रिम्स चेप्टी’ निर्माण गरिरहेका छन् । खासगरी आन्तरिक पर्यटकलाई लक्षित गरेर बनाउँदै गरिएको योे भव्य पार्कमा मन्त्रमुग्ध बनाउने दर्जनौँ स्थलहरु छन् ।

झापाको सुरुङ्गामा सुरु गरिएको ह्याप्पी ल्यान्ड फनपार्कको उच्च सफलताबाट हौसला मिलेपछि शिवाकोटीले चेप्टीमा अर्को ठुलो पर्यटकीयस्थलको सुरुवात गरेका हुन् । दुई सय रोपनी क्षेत्रफलमा सुरु गरिएको ह्याप्पी ड्रिम्स चेप्टीको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

एक अर्ब रुपैयाँको लागतमा निर्माण सुरु गरिएको यो विशाल पार्कले विश्वमा चर्चामा रहेको मिराकल पार्कलाई पनि पछि पार्ने योजनाका साथ काम सुरु भइरहेको शिवाकोटी बताउँछन् । माईखोलाको कलकल आवाज, चुरेको हरियालीको सुसाइले गर्दा ह्याप्पी ड्रिम्समा रात बिताउनेहरुलाई अझ बढी आनन्द मिल्नेछ ।

पछिल्लो एक वर्षदेखि निर्माण भइरहेको पार्कमा अहिलेसम्म १५० भन्दा धेरै प्रकारका हेर्न र प्रयोग गर्न मिल्ने स्थलहरु तयार भइसकेको छ । आउँदो चैतभित्रमा पार्कको ८० प्रतिशत काम सम्पन्न गरिसक्ने शिवाकोटीको योजना छ ।

नयाँ वर्ष २०७९ मा एक लाख आन्तरिक तथा बाह्य पर्यटकलाई ह्याप्पी ड्रिम्स घुमाउने उनको इच्छा छ । त्यसो गर्दा बैंकले ऋण पत्याउने र पार्कलाई अझ ठुलो आकार दिन सकिने शिवाकोटीको विश्वास छ ।

निर्माणाधीन अवस्थामा रहेको भए पनि पार्कको केही भाग घुम्नका लागि तयार भइसकेको छ । खासगरी शान्त तथा स्वच्छ वातावरण, खोला र चुरेको संगममा पार्क बनिरहेकाले पर्यटकले घण्टौँ बिताउन सक्छन् ।

निर्माणाधीन अवस्थामै रहेको पार्क क्षेत्रमा रात बिताउनका लागि रिसोर्ट शैलीका घरहरु बनिरहेका छन् । दिनभरि घुम्नका लागि पानी जहाज, जीपलाइन, डुङ्गा सयर, हेलिकोप्टर, विभिन्न प्रकारका पिङ, सेल्फी डाँडा, घोडचडी, डेटिङ स्थल, नमुना हिमाललगायत स्थलहरु बनाइँदैछ ।

ह्याप्पी ड्रिम्स चेप्टीको परियोजना सफल बनाउन शिवाकोटीले केबलकारको परिकल्पना पनि गरेका छन् । पार्कको सम्पूर्ण डिजाइन र निर्माण सल्लाह आफैँले दिँदै आएका उनले झापाको दोमुखादेखि चेप्टीसम्म झन्डै छ किलोमिटर लामो केबलकार सञ्चालनको योजना सुनाए । त्यस्तै, माईखोलामा पानीको सतह बढेको बेला स्टिमर र मोटरबोट सञ्चालन गर्ने उनको तयारी छ ।

माईखोला धार्मिक दृष्टिले पवित्र र पावन मानिने भएकाले चेप्टी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा पनि हेर्न सकिने उनको बुझाइ छ । त्यस्तै, दोमुखाबाट हात्ती, घोडा, उँटको यात्रा गराएर चेप्टी पुर्याउने उनको दीर्घकालीन योजना छ ।

चेप्टी पुग्नका लागि बिर्तामोडबाट खुदुनाबारी हुँदै सहिद सहादत स्थल सुखानीबाट पश्चिम लाग्नुपर्ने हुन्छ । यो बाटो छोटो तर कच्ची रहेको छ । यो छोटो बाटोमा केही समय जंगलबीच हुँदै खोलाको यात्रा रहेकाले रोमाञ्चक भने अवश्य हुनेछ ।

ह्याप्पी ड्रिम्स चेप्टीको परियोजना सुरु भएयता स्थानीयको मुहार फेरिएको छ । स्थानीयको मात्र होइन समग्र चेप्टी क्षेत्रमा विकासले फड्को मारेको छ । जग्गाको भाउ बढेको छ । स्थानीयको दैनिकीमा परिवर्तन आएको छ । स्थानीयले व्यवसाय सुरु गरेका छन् । चेप्टीको भविष्य सुन्दर हुँदै जानुमा ह्याप्पी ड्रिम्सको स्थापना र सञ्चालन मुख्य र एक मात्र कारण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer