बिर्तामोड, पुस २९ । ब्याडमिन्टनको जुनियरतर्फ विश्व नम्बर १ प्रिन्स दाहालले वार्षिक तीन हजार डलर पाउने भएका छन् ।
विश्व ब्याडमिन्टन महासंघले बुधबार जारी गरेको बरियतामा प्रिन्स शीर्ष स्थानमा उक्लिएका हुन् ।
बुधबारमात्र विश्व नम्बर एक बनेका प्रिन्सलाई बिहीबार नेपाल ब्याड्मिन्टन संघले बधाई दिन जारी गरेको विज्ञप्तिमा ब्याड्मिन्टन एसियाको एसिया ओलम्पिक प्रोजेक्टअन्तर्गत वार्षिक तीन हजार डलर प्राप्त गर्ने जानकारी दिएको छ ।
उनीभन्दा माथि रहेका दुई खेलाडी सिनियरमा बढुवा भएपछि प्रिन्स विश्व नम्बर एक बनेका हुन् । कुनै पनि नेपाली खेलाडीले जुनियर बरियतामा हासिल गरेको यो सबैभन्दा माथिल्लो स्थान हो ।
उमेर समूहमा नेपालका लागि ब्याड्मिन्टनको पहिलो स्वर्ण जितेका प्रिन्स सिनियर बरियताको भने ४ सय ४५औं स्थानमा छन् । हालै विश्व नम्बर एक बनेका प्रिन्सको १० हजार ४ सय अंक छ भने दोस्रो स्थानका मलेसियन खेलाडी हो जस्टिनको ९ हजार ५ सय ९० अंक छ ।
नेपाल बरियताको नवौं स्थानका प्रिन्स जुनियरतर्फ एक नम्बर हुन् । नेपालको सिनियर बरियतामा उनीभन्दामाथि रत्नजित तामाङ, दिपेश धामी, नविन श्रेष्ठलगायतका खेलाडी छन् ।
-खेलाडीबाट