
भद्रपुर, बैशाख ९ । खेलको सुरुवाती १४ औँ मिनेटमै १० खेलाडीमा सीमित भएको नेपाल पुलिस फुटबल क्लब झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पुलिसले भारतको रानी लक्ष्मीबाई फुटबल एकेडेमीलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । सेमिफाइनलमा पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ ।

खेलको १४ औँ मिनेटमा लक्ष्मीबाईले अग्रता लियो । पुलिसकी गोलकिपर उषा नाथले डिबक्स बाहिर आएर गोल समातेपछि उनी रातो कार्ड खाँदै मैदान बाहिर निस्किन् । उनको स्थानमा वैकल्पिक गोलकिपर सपना राई मैदान प्रवेश गरिन् ।

नाथको स्थानमा सहारा लिम्बुले मैदान छोडेपछि पुलिस १० खेलाडीमा सीमित भयो । लक्ष्मीबाईले डिबक्स नजिकै पाएको त्यो फ्रिकिकलाई बिनी कुमारीले प्रहार गरिन् । पुलिसकी गोलकिपरबाट रिबाउन्स भएको बललाई हेमन्ती कुमारीले गोल गरिन् ।

१–० गोलले पछि परेको पुलिसले त्यसको केही समय लय गुमाएको थियो । पुलिसले ३८ औँ मिनेटमा खेल बराबरी गर्यो । मिना देउवाको क्रस पासमा रेखा पौडेलले हेडमार्फत गोल गर्दै पुलिसलाई खेलमा फर्काइन् ।
खेलको ४६ औँ मिनेटमा पुलिसले अर्काे गोल थप्यो । पूजा रानाले गरेको कर्नर प्रहार लक्ष्मीबाईकी गोलकिपर रुपाली कुमारीको हातबाट रिबाउन्स भएको मौकामा कप्तान अमृता जैसीले वान टच गोल गरिन् ।
५३ औँ मिनेटमा पुलिसले तेस्रो गोल थप्यो । पूजा रानाको क्रस पासमा सम्झना लावतीले गोल गर्दै पुलिसको जित निश्चित गरिन् । खेलको ६७ औँ मिनेटमा पुलिसका नियमित स्ट्राइकर मिना देउवाले गोल गरिन् । पूजा रानाको फ्रिकिकमा रेखा पौडेलले डिबक्समा मिलाइदिएको बललाई देउवाले गोल गरिन् ।
खेलको इन्ज्युरी समयमा पूजा रानाले गोल गर्दै गोल अन्तर ५–१ मा पुर्याइन् । मैदानको मध्यभागबाट प्रहार गरेको लङ रेञ्जर सटले लक्ष्मीबाईका गोलकिपरको हातमा लाग्दै जाली चुमेको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम नेपाल पुलिसकी पूजा राना भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । भोलि (बिहीबार) अन्तिम क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र संकटा फुटबल क्लबबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ र ट्रफी पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन् ।






