२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका जेनिशले जिते पहिलो भ्वाइस किड्सको उपाधि


झापा, माघ २ । बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको पहिलो सिजनको उपाधि झापाका जेनिश उप्रेतीले जितेका छन् ।
अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्स’को उपाधि जितेका हुन् । उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखकोे चेक र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् ।

दर्शकको प्राप्तको मतको आधारमा विजेता घोषणा गरिएको द भ्वाइस किड्सका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

टिम प्रमोदबाट झापाकी रुक्सना लिम्बु र झापाकै जेनिश उप्रेती, टिम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौँकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टिम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए ।

जेनिशलाई हिमालय टिभीका प्रमुख धर्मराज भुसालले ट्रफी र चेक प्रदान गरेका थिए । उपाधि जितेपछि जेनिशले भने,‘मलाई परिवारले एकदमै साथ दिनुभएको छ । मलाई गाइड गर्ने सबै कोचहरुलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु । मैले ममीको सपना पूरा गर्न सकेकोमा गर्व गर्न चाहन्छु । दर्शकलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।’

झापा अर्जुनधारा ११ बसपार्कमा बस्दै आएका जेनिश चार वर्षको उमेरदेखि नै गायनमा अभ्यस्त भएका थिए । बिर्तामोडको फनमिन स्कुलमा कक्षा ४ मा पढ्दै आएकी ९ वर्षीय उनी सरगम संगीतालयमा भोकल सिक्दै आएका छन् ।

बुवाको घर हेटौँडा भए पनि उनी आमाको माइती धाइजन भएकाले बिर्तामोडमा स्थायी रुपमा बस्दै आएका छन् । आमा जानुकाको तीन महिनाअघि ३८ वर्षको उमेर निधन भएको थियो भने बुवा रोजगारीका लागि दुबईमा छन् ।

डिजिटल अडिसनमा सहभागी २० हजारमध्ये एक सयजना ब्लाइन्ड अडिसनमा सहभागी थिए । ब्लाइन्ड राउन्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिएका थिए । त्यसबाट लाइभका लागि २४ जना छानिए । अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका हुन् ।

६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरुको सहभागिता रहेको योे रियालिटी शोमा कोचको रुपमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए ।

यसैबीच, ‘द भ्वाइस किड्स’ सफलतापूर्वक सम्पन्न भएसँगै हिमालय टिभीले ‘द भ्वाइस अफ नेपाल’ को चौथो सिजनको अडिसन मंगलबारबाट सुरु हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer