२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिबिसीमाथि मछिन्द्रको सानदार जित


झापा, माघ २ । फरवार्ड बिमल घर्तीमगरको दुई गोलसँगै एक असिस्ट दिएपछि शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई पराजित गरेको छ ।

मछिन्द्रले बिबिसीलाई ४–० ले पराजित गर्दै शीर्ष स्थानमा ४ अंकको स्पष्ट अग्रता बनाउन सफल भएको हो । बिमलले दुई तथा रेजिन सुब्बा र अभिषेक रिजालले समान एक गोल थपे । बलियो मछिन्द्रलाई पहिलो हाफमा बराबरीमा रोके पनि दोस्रो हाफमा रोक्न सकेन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलको १५औँ मिनेटमा रजिन धिमालकै कर्नरमा देवेन्द्र तामाङको हेडर पोस्ट नजिकैबाट आकासिदा मछिन्द्रले अग्रता लिन सकेन । २२औँ मिनेटमा छिरिङ गुरुङको क्रसमा बिमल घर्तीमगरको हेडर दोस्रो बार च्याप्दै थोरै आकासिदा मछिन्द्र अग्रता लिनबाट चुक्यो ।

२५औँ मिनेटमा रजिन धिमालको कर्नरमा देवेन्द्र तामाङ प्रहार गोलरक्षक गुरप्रित सिंहले बचाउँदा डिफेन्डरले क्लियर गर्दै बिबिसीको संकट टारे । २९औँ मिनेटमा नुर्लान नोभ्रुजोभको हेडर सदुपयोग हुन सकेन । ३४औँ मिनेटमा बिबिसीका मनोज राईको कर्नरमा बट्रान्ड इवोडेको हेडर क्रसबारबाट थोरै आकासियो ।

४१औँ मिनेटमा रोशन रानामगरको प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले दोस्रो प्रयासमा नियन्त्रणमा लिए । ४४औँ मिनेटमा सुनिल बलको झन्दै ३० यार्ड टाढाको प्रहार गोलरक्षक गुरप्रित सिंहले पञ्च गर्दै बचाए ।

५६औँ मिनेटमा बिबिसीका गोलरक्षक गुरप्रित सिंहको कमजोर प्रदर्शनमा बिमल घर्तीमगरले गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाए । छिरिङ गुरुङले गोलरक्षक बल बचाउन अघि बढेको अवस्थामा गरेको क्रसलाई रेजिन सुब्बाको ओभरहेड किकलाई बिमलले हेडमार्फत गोल गर्न सफल भएका थिए ।

६२औँ मिनेटमा बिमलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । रजिन धिमालको लामो पासलाई बट्रान्डलाई बिट गर्दै बिमलले वान भर्सेस वानको अवस्थामा सहज गोल गर्न सफल भएका थिए । जारी लिगमा उनले आफ्नो गोल संख्या तीन पु¥याएका छन् ।

६६औँ मिनेटमा बिमलको प्रहारलाई गोलरक्षक गुरप्रितले पञ्च गर्दै बचाउँदा ह्याट्रिकबाट चुक्यो । ७६औँ मिनेटमा गोलरक्षक गुरप्रित अघि बढेको अवस्थामा बिमलले खोली पोस्टमा चुक्दा ह्याट्रिकबाट फेरि चुक्यो । ८४औँ मिनेटमा सब्सिच्युट फरवार्ड रेजिन सुब्बाले गोल गर्दै मछिन्द्रलाई फराकिलो जिततर्फ अग्रसर गराए । उनले बिमलको पासमा कुल फिनिसिङको नमुना पेश गरेका थिए ।

रेजिन पहिलो हाफको इन्ज्युरी समयमा नुर्लान नोभ्रुजोभको स्थानमा मैदान प्रवेश गरेका थिए । रेजिनले चोटबाट फर्किएको पहिलो खेलमै गोल गर्न सफल भए । उनी चोट र कोरोना महामारीका कारण झन्डै दुई वर्ष मैदान बाहिर रहेका थिए ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा अभिषेक रिजालले गोल गर्दै मछिन्द्रलाई सानदार जित दिलाए । उनले कप्तान सुजल श्रेष्ठको पासमा अफसाइड बिट ट्रयाप गर्दै गोलरक्षक गुरप्रितलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।

जितसँगै अपराजित रहेको शीर्षस्थानको मछिन्द्रको ९ खेलबाट २३ अंक पुगेको छ । मछिन्द्रले दोस्रो स्थानको मनाङलाई ४ अंकले पछि पारेको छ । ब्रिगेड ९ खेलमा ६ अंक जोडेर १२ औँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer