२०८३ जेठ ८ शुक्रबार
Jhapa Today
Adv top

पाँचौँ झापा गोल्ड कपको तयारी पूरा


बिर्तामोड, फागुन १९ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता नेपाल आइस पाँचौँ झापा गोल्ड कपको तयारी पूरा भएको छ ।

पाँचौँ झापा गोल्डको समुद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् भने समापन पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गर्ने छन् ।

आयोजक झापा गोल्ड कपले आज खेल मैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । पाँचौँ संस्करणको झापा गोल्ड कप फागुन २१ गतेदेखि ३० गतेसम्म हुँदैछ ।

झापा गोल्ड कपलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । गोल्ड कपका लागि खेलमैदान र प्यारापिट निर्माणलगायतका काम सम्पन्न भएको उनले बताए ।

गोल्ड कपका लागि झन्डै दुई महिना लगाएर उत्कृष्ट र शानदार मैदान बनाइसकिएको छ । करिब १० हजार दर्शक बस्न मिल्नेगरी बाँसको प्यारापिट निर्माण गरिएको छ भने दर्शकको चाप हुनसक्ने अनुमानका साथ प्यारापिटको अघिल्लोतिर दर्शकका लागि प्लास्टिकको कुर्सी र भुइँमा बसेर हेर्न सहज होस् भनेर कार्पेट ओछ्याइएको महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।

प्रतियागिताको तयारीस्वरुप झापा जिल्लाभरि स्वागत गेटहरु निर्माण गरिएको छ । बिर्तामोड आसपासमा एक दर्जन स्वागतद्वार बनाइएको छ ।

पाँचौँ संस्करणको झापा गोल्ड कपमा घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी हुने आयोजकले जनाएको छ । गोल्ड कपमा दुई भारतीय टिम एम एफसी दार्जिलिङ र आरपी एफसी सिक्किम सहभागी हुनेछन् ।

यो संस्करणमा पहिलोपटक औपचारिक गीत निर्माण गरेर सार्वजनिक भइसकेको छ । झापाको भूगोल र यहाँको फुटबलप्रतिको लगावलाई समेट्दै झापालाई फुटबल हबको रुपमा विकास गर्ने उद्देश्यले गीत निर्माण गरिएको हो ।

गीतकार वसन्त थाम्सुहाङको रचना रहेको गीतमा पारस मुकारुङले संगीत भरेका हुन् । गीतमा गायक डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दिपा लामाको स्वर रहेको छ ।

त्यस्तै, पाँचौँ झापा गोल्ड कपको औपचारिक मस्कटका रुपमा हात्तीको छावालाई प्रतिनिधित्व गराइएको छ । छावाले फुटबल प्रहार गर्दै गरेको प्रतिकका रुपमा मस्कट निर्माण गरिएको छ । मस्कटको निर्माण कलकार पवन राजवंशीले गरेका हुन् ।

त्यस्तै, यो वर्षको झापा गोल्ड कपको नारा ‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्ड हाम्रो शान’ तय गरिएको छ ।

झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउँनेछन् । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेनडर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ रुपैयाँ पाउनेछन् ।

अघिल्लो वर्षजस्तै पाँचौँ संस्करणको उद्घाटन समारोहमा पनि झापा जिल्लाका दुईजना पुराना फुटबल खेलाडीलाई नगद १५ हजारसहित सम्मान गरिनेछ । यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ । यो रकम गोल्डकप उद्घाटनको दिन प्रदान गरिनेछ ।

Adv footer