२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सहारा नेपाल २७ वर्षमाः १५ अर्बको वासलात, एटिएम मेसिनको उद्घाटन हुँदै


बिर्तामोड, चैत २१ । सदस्य संख्या र शेयर पुँजीका हिसाबले नेपालकै सबैभन्दा उत्कृष्ट र ठुलो सहकारीको रुपमा रहेको झापा चारपानेको सहारा नेपाल साकोसको वासलात १५ अर्ब रुपैयाँ पुगेको छ ।

संस्थाको २७ औँ स्थापना दिवसको अवसरमा आयोजना हुन लागेको वार्षिकोत्सव कार्यक्रममा हालसम्मको प्रगति विवरण सार्वजनिक हुँदैछ । सहाराले आगामी १० वर्षभित्र एक खर्ब रुपैयाँको वासलातको लक्ष्य बनाएको प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले जानकारी दिए ।

संस्थाले वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय र धुलाबारी सेवाकेन्द्रमा एकैसाथ एटिएम सेवा सुरु गर्दै छ । एटिएम सेवालाई आगामी दिनमा विस्तार गर्दै लैजाने संस्थाले जनाएको छ ।

सहारामा हालसम्म एक लख ६० हजार सदस्य पुगेका छन् भने ७७ वटा सेवाकेन्द्र रहेका छन् । हाल सहारा नेपाल छवटा जिल्लामा पूर्ण रुपमा र पाँच जिल्लाका दुईदुईवटा गरी ८० स्थानीय तहमा कार्य क्षेत्र बनाएर काम गरिरहेको छ ।

संस्थाको शेयर पुँजी एक अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने बचत नौ अर्ब ५६ करोड रुपैयाँ छ । संस्थाले एक हजार ३१६ करोड रुपैयाँ ऋण लगानी गरेका छ । जगेडा तथा अन्य कोषमा एक अर्ब रुपैयाँ रहेको गिरीले बताए ।

संस्था स्थापनाको २७ औँ वर्षमा आइपुग्दा सहाराले सामाजिक तथा अन्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको छ । संस्थाले हालसम्म उपचार अपरेसन, दुर्घटना र विशेष रोग लगायतमा ५१ करोड २९ लाख ८० हजार ४०९ रुपैयाँ सहयोग गरेको छ । सो सहयोग ३८ हजार ८४५ जना सदस्यलाई प्रदान गरिएको गिरीले बताए ।

त्यस्तै, संस्थाले सञ्चालन गरेको विद्यालयमा २९० जना विद्यार्थी अध्ययनरत छन् भने १७९ जनालाई प्राविधिक शिक्षाको लागि छात्रवृत्ति प्रदान गरिएको छ ।

जैविक विविधता तथा वातावरण संरक्षणको क्षेत्रमा सहाराले १० हजार परिवारलाई सुधारिएको चुलो निर्माणमा सहजीकरण गरेको छ । १२ हजार घर परिवारलाई शौचालय निर्माणमा सहजीकरण, २५ हजार सदस्यलाई फलफूलको विरुवा वितरण, ८ हजार २०० घरपरिवारमा सोलार जडान र ३ हजार २४७ घर परिवारमा बायोग्यास जडान गरिएको छ ।

त्यस्तै, सामाजिक क्षेत्रमा सहाराले उल्लेख्य काम गरेको छ । झापामा अक्सिजन सिलिन्डर बैंक स्थापनामा सहयोग, २ हजार १५६ वटा विपन्न आवास निर्माणमा सहजीकरण, ६ वटा एम्बुलेन्स हस्तान्तरण, ५ वटा खानेपानी ट्यांकी निर्माणमा सहयोग र सर्पदंश उपचार केन्द्र स्थापनामा सहयोग गरेको छ ।

संस्थाले कोरोना राहत कार्यक्रमअन्तर्गत कोभिड भएका ४ हजार ५०० जना सदस्यलाई पोषण सामग्री वितरण गरेको थियो । कोभिड सहायतामार्फत १ हजार ७७० जना होम आइसोलेसनमा रहेका सदस्यहरुका लागि औषधि सहयोगबापत १ करोड २३ लाख ९० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

प्रदेश सरकार र स्थानीय सरकारमार्फत ५७ लाख ३५ हजार २५७ रुपैयाँबरावरको राहत प्याकेज सहाराले उपलब्ध गरएको थियो । त्यस्तै, ७ हजार ८१६ जनालाई विपद सापटी रकमबावत २ करोड ६८ लाख २३ हजार रुपैयाँ प्रदान गरिएको गिरीले जानकारी दिए ।

संस्थाले कोभिडको समयमा ब्याजमा १० प्रतिशत छुटबापत ३ करोड ४५ लाख ब्याज छुट दिएको थियो ।

संस्थाले रोजगारी सिर्जनामा योगदान पुर्याउँदै आएको छ । प्रत्यक्ष रोजगारीमा ५२६ जना संलग्न छन् भने कृषि व्यवसायमार्फत ६ हजार ६२ जनामा रोजगारी सिर्जना गरिएको छ । विदेशबाट फर्किएका तथा बेरोजगार ३ हजार ३८६ जनालाई अटो रिक्सा ऋण प्रदान गरिएको छ ।

साना तथा मझौला उद्योगमार्फत १ हजार २०० जनामा उद्यम सिर्जना गरिएको छ भने ९ हजा ३० जनालाई विभिन्न व्यवसायमार्फत स्वरोजगार बनाउन संस्था सफल भएको गिरीले बताए ।

कृषि क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोगअन्तर्गत ९०० वटा स्यालो ट्युबवेल वितरण गरी ३ हजार हेक्टर जमिन सिँचाइ भइरहेको छ । कृषिलाई व्यावसायिक बनाउन १ हजार ४०० वटा टनेल वितरण गरिएको छ भने १६ हजार सदस्यलाई कृषि प्राविधिक सहयोग गरिएको छ ।

पशुपालनमा किसानलाई सहयोगस्वरुप ४ हजार ९१८ वटा पशु बीमामार्फत सुरक्षा प्रदान गरिएको छ । ४० वटा फ्रेस हाउस निर्माणमा साझेदारी र ७ हजार ४१ जना किसानलाई खसीबाख्रा र कुखुरा पालनमा सहयोग गरिएको छ ।

संस्थाले गरिबी न्यूनीकरणमा योगदान पुर्याउन लघुवित्त कार्यक्रममार्फत गरिबी न्यूनीकरणमा सहयोग, सिप, तालिम र उद्यमशीलता विकासमा सहयोग र स्थानीय स्तरमा स्वरोजगारी सिर्जनामा सहयोग गरेको छ ।

लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा योगदान पुर्याउँदै सहाराले सदस्य संरक्षणमा जोड दिँदै आएको छ । त्यसअन्तर्गत ज्येष्ठ सदस्य, एकल महिला पुरुषको लागि सामाजिक सुरक्षा कार्यक्रम, अनाथ, अशक्त बालबालिकाहरुका लागि सामाजिक सुरक्षा कार्यक्रम गर्दै आएको छ । संस्थाले हालसम्म ४ हजार ८९२ जनालाई दशकर्म तथा काजक्रिया खर्च उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer