
बिर्तामोड, बैशाख ९ । सरकारले नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने र एसियाली खेलकुदमा नेपालले २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड बैठकले नवौँ राष्ट्रिय खेलकुदको खेल संख्या र चीनको होङझोउमा हुने १९औँ संस्करणको एसियाडका लागि सहभागी खेल संख्या निर्धारण गरेको हो ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बसेको राखेपको बोर्ड बैठकले आसन्न नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी खेल आयोजना गर्ने निर्णय गरेको छ ।
एसियाडमा भने दुई वर्षअघि नेपालमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेल तथा पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा उच्च प्रदर्शन गरिरहेका तथा सम्भावना भएका खेलहरु समावेश गर्ने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

सरकारले नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिसकेको छ । राखेपको बोर्ड बैठकले प्रतियोगिता सञ्चालनका लागि आवश्यक निर्देशिका पारित समेत गरेको छ ।
एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म सञ्चालन हुँदैछ । नेपालले सहजै सहभागिता जनाउन पाउने सबैभन्दा ठुलो आधिकारिक प्रतियोगिता भएको हुनाले पनि धेरैभन्दा धेरै खेलका खेलाडीलाई एक्स्पोजर दिने रणनीति राखेपले लिएको हो ।

तर, यो संख्या अघिल्लो संस्करणको भन्दा कम हो । चार वर्षअघि इन्डोनेसियामा सम्पन्न १८औँ एसियाली खेलकुदमा २७ खेलका झन्डै २०० खेलाडीको सहभागिता थियो ।
बैठकले एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टिक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्यान्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खोखो, कराते, फुटबल कन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङलाई समावेश गर्ने निर्णय गरेको छ ।

बैठकले ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा नवौँमा राष्ट्रिय खेलकुदमा समावेश गरेको छ ।
२०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागु भएको झन्डै दुई वर्षपछि राखेपको बोर्ड बैठक बसेको हो । यसलाई नयाँ ऐन कार्यान्वयनको महत्वपूर्ण चरणका रुपमा पनि हेरिएको छ ।

करिब तीन वर्षपछि पहिलोपटक बसेको राखेपको बोर्ड बैठकले संघसंस्थाको निर्देशिका पारित गर्नेदेखि जापानमा भएको ओलम्पिकमा सहभागी हुँदाको खर्च पारित गर्नेसम्मको निर्णय गरेको छ ।