२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका नगरप्रमुखका उम्मेदवारको उद्घोषः फोहोरमुक्त, सुरक्षित र समृद्ध बनाउने


बिर्तामोड, बैशाख २५ । बिर्तामोड नगरपालिकाका नगरप्रमुख पदका उम्मेदवारले नगरलाई फोहोरमैलामुक्त र सुरक्षित सहर बनाउने आफ्नो मुख्य अजेन्डा भएको बताएका छन् ।

उनीहरुले बिर्तामोडको व्यापारिक गतिविधिलाई थप बढाउने गरी खेलकुद, पर्यटन र कर प्रणाली व्यवस्थापनतर्फ विशेष योजना लागु गर्ने दाबी गरेका छन् ।

संवाद समूह झापाले आइतबार बिहान बिर्तामोडमा आयोजना गरेको छलफलमा सहभागी उनीहरुले भौतिक पूर्वाधारसँगै सम्भावना बोकेका क्षेत्रको विकास गर्न नसक्दा बिर्तामोडले हासिल गर्नुपर्ने विकासको गति समात्न नसकेको बताए ।

नेकपा एमालेबाट नगरप्रमुख पदकी उम्मेदवार पवित्रा महताराले आफ्नो पहिलो योजना बिर्तामोडलाई व्यापारिक र मानवीय दुवै हिसाबले सुरक्षित बनाउनु रहेको बताइन् ।

उनले बिर्तामोडलाई बन्दमुक्त क्षेत्र घोषणा गरेर व्यापारीलाई निर्धक्क व्यापार व्यवसाय गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
नगरपालिकाले कर प्रणालीलाई अझै पूर्णरुपमा व्यवस्थापन गरिनसकेकाले आगामी कार्यकालमा उद्योगी, व्यवसायीको हितमा हुनेगरी कर प्रणालीको व्यवस्थापन गर्ने बताइन् ।

उनले नगरभित्र पर्यटनको सम्भावना बोकेका पोखरी, पार्कलाई व्यवस्थित गरेर पर्यटनबाट आम्दानी, बेरोजगारलाई रोजगारी सिर्जना गर्ने बताइन् । उनले डोमालाल राजवंशी रंगशालालाई बृहत्त रंगशालाको रुपमा विकास गर्ने योजना रहेको सुनाइन् ।

Adv block_7_1

नेपाली कांग्रेसबाट नगरप्रमुख पदका उम्मेदवार भोजराज सिटौलाले बिर्तामोडवासीको जीवनस्तर सुखी बनाउने योजनाहरु लागु गर्ने बताए ।

उनले गुणस्तरीय शिक्षा र स्वास्थ्यमा नगरवासीको पहुँच र सेवा पुर्याउने र नगरभित्रै निःशुल्क डायलासिसको व्यवस्था मिलाउने बताए ।

विज्ञ नियुक्त गरेर नगरको फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गर्ने सिटौलाले बताए । उनले डोमालाल राजवंशी रंगशाला निर्माण गरी बिर्तामोडलाई खेलकुदको क्षेत्रबाट पनि पहिचान बनाउने कार्यक्रम ल्याउने बताए । करको दर पुनरावलोकन गर्ने तथा नगरबासीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने बताए । उनले कृषि, पर्यटनमा आम्दानीमूलक कार्यक्रम लागु गरेर नगरका प्रत्येक घरमा शुद्ध खानेपानीको सुविधा पु¥याउने दाबी गरे ।

राप्रपाबाट नगरप्रमुख पदका उम्मेदवार ध्रुवकुमार उप्रेतीले आफ्नो मुख्य अजेन्डा बिर्तामोड नगरपालिकालाई वडास्तरसम्मै भ्रष्टाचारमुक्त बनाउने भएको बताए ।

उनले १२ कक्षासम्मको शिक्षा निःशुल्क गर्ने, सबैको पहु“चमा पुग्नेगरी स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम लागु गर्ने बताए ।

उप्रेतीले विज्ञसँग सल्लाह गरेर अदुवा खोलाको उचित व्यवस्थापन गर्ने तथा व्यापारीलाई करमा छुट, विद्युतमा छुट र ढुवानीमा समेत छुटको व्यवस्था गर्ने बताए ।

उनले सुत्केरी महिलालाई मासिक तीन हजार तथा सुत्केरी पशुलाई मासिक एक हजार भत्ताको सुविधा समेत दिने बताए ।

जनता समाजवादी पार्टीबाट नगरप्रमुखका उम्मेदवार उदय गुरुङले बिर्तामोडको फोहोरमैला व्यवस्थापन गर्न त्यति गाह्रो नभएकाले आफू निर्वाचित भए तत्काल उक्त काम गर्ने बताए ।

उनले बिर्तामोड नगरपालिकाभित्र सबै जातजाति, भाषाभाषीको सहज पहु“च हुने अवस्था सिर्जना गर्ने बताए । सामुदायिक विद्यालयको शिक्षाको अवस्था सुधार गर्ने योजना आफूहरुसँग भएको बताए ।

नेपाल परिवार दलबाट नगरप्रमुख उम्मेदवार केदार ढुंगानाले बिर्तामोडलाई आवश्यक विकास निर्माण हुन नसकेकाले आफू उम्मेदवार बनेको बताए । उनले बिर्तामोडको १० वटै वडाको समग्र विकास गर्ने योजनासाथ चुनावी मैदानमा होमिएको बताए ।

आमूल परिवर्तन मसिहा पार्टीबाट नगरप्रमुखका उम्मेदवार मनकुमार खुदाङ लिम्बूले बिर्तामोड व्यापारिक महत्व बोकेको नगर भएकाले व्यापारिक क्षेत्रबाट नमुना सिटीको रुपमा विकास गर्ने योजनासाथ आफू उम्मेदवार बनेको बताए ।

उनले १२ कक्षासम्मको शिक्षा निःशुल्क गर्ने, गरिब जनतालाई सहज र निःशुल्क स्वास्थ्य सेवा पु¥याउने योजना आफूसँग भएको बताए ।

उनले कृषिथोक बजारलाई आधुनिक बजारका रुपमा विकास गर्ने दाबी गरे । उनले नगरभित्रका साँघुरा सडकलाई आगामी दिनमा प्रभावकारी हुनेगरी सडक फराकिलो बनाउने बताए ।

मौलिक जरोकिलो पार्टीबाट नगरप्रमुख उम्मेदवार प्रज्ज्वल अधिकारी शर्माले बिर्तामोडलाई नगरको अभिभावकीय निकायका रुपमा विकास गर्न आफू उम्मेदवार बनेको बताए ।

उनले नगरपालिकाको सही व्यवस्थापन हुन नसक्दा नगरभित्रको विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायतका सेवाहरु प्रभावकारी र जनमुखी बन्न नसकेको बताए ।

नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार नगेन्द्र अधिकारीले बिर्तामोडमा स्रोत साधन भएर पनि आशातित विकास निर्माणको काम नभएको देखेर आफू उम्मेदवार बनेको बताए ।

उनले आफू नगरप्रमुख पदमा निर्वाचित भए सबै पक्ष र क्षेत्रलाई समेटेर बिर्तामोडलाई रुपनान्तरण गरी नमुना बनाउने बताए । उनले विराटपोखरीलाई ‘सुन पोखरी’ को रुपमा विकास गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer