२०८२ भदौ २९ आइतबार
Jhapa Today
Adv top

एसियन बक्सिङमा कास्य जितेकी जवेगूलाई झापामा सम्मान


बिर्तामोड, माघ १६ । थाइल्यान्डमा सम्पन्न एएसबिसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेकी झापाकी त्रिसा जवेगूलाई गृह नगरमा सम्मान गरिएको छ ।

झापा भद्रपुरकी जवेगूलाई आज एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास समितिको अगुवाईमा सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा भद्रपुर झापा गोल्ड कपका वरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीले एसियन प्रतियोगितामा पदक प्राप्त गरेर सिंगो झापालाई गौरवान्वित बनाएको बताए । उनले आगामी दिनमा जवेगूलाई सहयोग गर्ने बाचा गरे ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेल, पावर लिफ्टिङ संघ झापाका संयोजक प्रज्ज्वल राई, समितिकी उपाध्यक्ष गंगा भूर्तेल, समिति सदस्य पूर्णिमा सिटौला, बक्सिङ प्रशिक्षक डम्बर लिम्बू लगायतले जवेगूलाई सम्मान गरेका थिए ।

जवेगूले मिडल वैट ७५ किलो तौल समूहमा बाई पाएर कास्य पदक पक्का गरेकी थिइन् । जवेगू हालै गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा ७५ केजी तौल समूहकी स्वर्णधारी मुक्केबाज हुन् ।

उनलाई नेपाल सरकारले नगद तीन लाख रुपैयाँसहित पुरस्कृत गर्ने घोषणा गरिसकेको छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

च्याम्पियनसिपमा मुक्केबाज सुष्मा तामाङले ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो ।

च्याम्पियनसिपमा जवेगूसहित विजय बाटा, हेमा राईले कास्य जितेका थिए ।

Adv footer