२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

सदस्यहरुसँग खुला सम्वाद गर्दै शिक्षा बहुउद्देश्यीय सहकारी


मेचीनगर, जेठ ११ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुसँग खुला सम्वाद सुरु गरेको छ ।

झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको संस्थाले प्रदान गर्ने सेवा–सुविधा, संस्थाको वर्तमान अवस्था, सदस्यको संस्थाप्रतिको जिम्मेवारी लगायतको विषयमा सम्वाद सुरु गरेको अध्यक्ष सुब्रत न्यौपानेले जानकारी दिए ।

सदस्य शिक्षा कार्यक्रममार्फत अन्तरक्रिया गर्दै दोहोरो कुराकानी गर्ने उद्देश्यले खुला सम्वाद सुरु गरिएको हो । संस्थाले मेचीनगरस्थित धुलाबारी सेवा केन्द्रमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

प्रत्येक सदस्यसँग सल्लाह र सुझाव लिने तथा अहिलेको वित्तीय संकटको अवस्थामा सहकारीबारे विभिन्न भ्रम सिर्जना भइरहेकोले सहकारी अभियानविरुद्धको भ्रम चिर्न कार्यक्रम गरिएको न्यौपानेले बताए ।

संस्थाको वस्तुस्थितिबारे सदस्यलाई जानकारी दिन, संस्थासँग सदस्यको अपेक्षा र संस्थाको श्रीबृद्धिमा गर्नुपर्ने कामको बारेमा सुझाव लिन सदस्य शिक्षा कार्यक्रम गरिएको उनको भनाइ छ ।

कार्यक्रममा सेवा केन्द्र धुलाबारीका शेयर सदस्य लक्ष्मीप्रसाद पाठक, अम्बिका कोइराला, जिना खत्री क्षेत्री, सुमिना खनाल, तारादेवी अधिकारी, शारदा ढकाल लगायतका सदस्यले संस्थाले प्रदान गर्ने सेवा सुविधा, ऋण र बचतको ब्याजदर, वित्तीय अवस्था लगायतका विषयमा जिज्ञाशा राखेका थिए ।

साथै, सदस्यहरुले आफू संस्थाबाट पूर्ण सन्तुष्ट रहेको समेत बताएका थिए । सदस्यहरुबाट आएको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष न्यौपानेले संस्थाले प्रदान गर्ने सेवा सुविधा, ऋण र बचतमा पाइने ब्याज, संस्थाको वित्तीय अवस्था, सञ्चालक समितिले लिएको ऋणको अवस्था लगायतका बारेमा प्रस्ट पारेका थिए ।

उनले सदस्यले नै गरेको बचत अर्को सदस्य ऋणको रुपमा पाउने भएकाले नियमित किस्ता गर्न आग्रह गरे ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सूर्यकुमार खतिवडाले गरेका थिए । स्वागत सेवा केन्द्र प्रमुख विपना तिम्सिनाले गरेकी थिइन् ।

कार्यक्रममा सञ्चालक समिति सदस्य चिजा राई, लक्ष्मीप्रसाद घिमिरे, शिक्षा समिति सदस्य सन्तोष शर्मा र सेवा केन्द्र धुलाबारीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

पाँचवटा सेवा केन्द्र धुलाबारी, धाइजन, शनिश्चरे, दुर्गापुर र चैतुबारीमा सेवा प्रदान गर्दै आएको शिक्षा सहकारीले क्रमशः सबै सेवा केन्द्रमा सदस्य शिक्षा कार्यक्रम गर्ने संस्थाका सचिव खतिवडाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer